पहिरोमा परेर दुवैखुट्टा भाँचिएका प्यूठानको नौबहिनी ८, फाप्लीका १३ वर्षीय बालक जीवन पुन भैरहवा मेडिकल कलेजमा छटपटाउन थालेको १० दिन भयो ।
डक्टरले अप्रेसन गर्नुपर्छ भनेपनि अस्पताल प्रशासनले पैसा नभई अप्रेशन गर्न नमानेपछि रकम अभावमा उनको अप्रेसन हुन सकेको छैन ।
धेरैदिनदेखि नजिकैको बेडमा बालक चिच्याउन थालेपछि आफूले सोध्दा बालकको बुबाले रकम अभावमा अप्रेसन गर्न नसकेको गुनासो गरेको सोही मेडिकल कलेजमा भाइको उपचार गर्न पुगेका रूपन्देहीको सैनामैनाका जीवन रोका क्षेत्रीले बताए ।
त्यो बालक छिनछिनमा उठेर ऐया ऐया गर्छ म निदाएको झसङ्ग हुन्छु, डाक्टर हरू उसको खुट्टा बचाउन ओल्लो पल्लो बेडबाट दिनहुँ मागेरै ब्यान्डेज बाँध्छन्, स्लाइन दिन्छन र निःशुल्क ड्रेसिङ गरिरहेका छन, क्षेत्री भन्छन्, बालकका बुबा भौतारिरहेको देख्दा र त्यो बाकलको चिर चित्कार सुन्दा मन निकै भावुक भएर रोइरहेको छ ।
समयमै अप्रेसन नहुँदा उनको खुट्टाको औँला दिनदिनै निलो हुँदै गएको र छोराको अबस्था देख्दा पीडा हुने र आफूसँग केही उपाय नभएको बालकबा बुबा कर्ण बहादुरले बताए ।
घर जग्गा बेचौं भने पहिरोले सोत्तर पार्यो के बेच्नु गाउँ समाज नै पहिरो पीडित छ कसरी सहयोग माग्नु
उता बाख्रा चराउन जाँदा भिरबाट लडेर गम्भीर घाइते भएका काभ्रेको डाडापारी महाभारत गाउँपालिका ३ का १२ वर्षीय कान्छा लाल योन्जन पनि साउन २७ गतेदेखि कलङ्किको नेपाल नेशनल हस्पिटलमा छटपटाइरहेका छन् ।
एकपटक अप्रेसन गरेका उनको पुनः अप्रेसन गर्नुपर्ने भनेपनि आर्थिक अभावमा उपचार हुन सकेको छैन । छोराको ज्यान बचाउन बाबु ज्ञान बहादुर योन्जन ऋण खोजीरहेका छन्, तर अप्रेसन गर्ने रकम जुटाउन सकेका छैनन् ।
बेड नम्बर ४१२ मा रहेका ति बालकको पनि अप्रेसन हुन नसकेको रास्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य कुमार हुमागाईँले सामाजिक सञ्जालमा लेखेका छन् ।
अस्पतालले रकमको पूर्व सुनिश्चितताबिना अप्रेसन नगर्ने आफ्नो आर्थिक अबस्था निकै कमजोर भएको कारण उपचार हुन नसकेको बिरामीका दाइ बिवस योन्जनले बताए ।
ती दुइ बालकका आफन्तले बालकहरुको ज्यान बचाइदिन अनुरोध गरेका छन् ।
प्रतिक्रिया