बेलायती लगानीकर्ता भित्र्याउने भन्दै नेपालका बैंकसँग मर्जरमा जान आनाकानी गरेको हिमालयने बैंक अन्ततः मर्जरमै जाने निचोडमा पुगेको छ ।
आइतबार चार सदस्यीय शक्तिशाली मर्जर कमिटि गठन गरेपछि हिमालयन बैंक मर्जर प्रक्रियामा अगाडि बढेको देखिएको छ ।
समितिको संयोजक सुनिल बहादुर थापा रहेका छन् भने सदस्यहरुमा प्रचण्ड बहादुर श्रेष्ठ, विजय बहादुर श्रेष्ठ र आशिष शर्मा रहेका बैंकका अध्यक्ष तुलसी गौतमले बताए । कमिटिमा प्रवर्द्धक र साधारण लगानीकर्ता दुबै समूहको प्रतिनिधित्व रहेको छ ।
हिमालयन बैंकसँग इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि निकै अघिदेखि प्रस्ताव गरेको भएपनि हिमालयन बैंकले बेलायती लगानीकर्ता सीडीसी भित्र्याउन पहल गर्दा केही ढिला भएको थियो ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा नकारात्मक असर पारेकोले मर्जरको विकल्प नभएको निष्कर्षमा हिमालयन बैंक पुगको हो ।
त्यसमाथी नेपाल राष्ट्र बैंकले मर्जरको पहल के कस्तो भइरहेको छ भनेर पत्राचार नै गर्न लागेपछि ठूला बैंकहरु पनि मर्जरको आन्तरिक गृहकार्यमा लागेका हुन् ।
सीडीसीले हिमालयन बैंकमा रहेको पाकिस्तानको हविब बैंकको संस्थापक सेयर किन्न खोजेको थियो ।
तर, यही प्रसंग चलिरहेको बेलामा कोरोना भाइरस (कोभिड १९) संक्रमण विस्तार भएपछि सीडीसीले सेयर किन्ने चासो नदेखाएको हिमालयन बैंक स्रोतले जानकारी दिएको छ ।
हिमालयन बैंक हविब बैंकको सेयर सीडीसीले किनेपछि आवश्यक परेमा अन्य बैंकसँग मर्जरमा जाने तयारीमा थियो ।
नेपाल राष्ट्र बैंकले मर्जरमा गएर बैंकको संख्या घटाउन सहयोग गर्न भनेको, सीडीसी आउन केही ढिला हुने देखिएको र कोरोना भाइरस (कोभिड १९) का कारण अर्थतन्त्रमा मन्दी आएर बैंकले आफू सुरक्षित हुने थप प्रबन्ध गर्नुपर्ने भएकोले राम्रो बैंकसँग मर्जरमा जाने निचोडमा हिमालयन बैंक पुगेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाका अनुसार मर्जरका लागि सबैभन्दा पहिलो रोजाइमा नेपाल इन्भेष्टमेन्ट बैंक परको छ ।
केही समयपहिला नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकका संचालकहरुबीच अनौपचारिक बैठक भएको थियो । सो बैठकमा कन्सल्ट्याण्ट नियुक्त गरेर मर्जरको प्राविधिक काम अघि बढाउने अनौपचारिक समझदारी बनेको स्रातको दावी छ ।
मर्जरको आवस्यक गृहकार्य स्वरुप नै हिमालयन बैंक संचालक समितिले औपचारिक निर्णय गरेर शक्तिशाली मर्जर कमिटि गठन गरेको हो ।
प्रतिक्रिया