एनआईसी एसीया बैंकमा काेराेनाकाे उच्च जोखिम : 'कर्मचारी सार्वजनिक यातायातमा भएपनि आउनु, हाजिर नगर्नु'

५ बर्ष अगाडि

बैंकहरुमा भिडभाड कम गरेर सेवा प्रवाह गर्न नेपाल राष्ट्रबैंकको निर्देश विपरित एनआईसी एसीया बैंकले सबै कर्मचारीलाई अनिवार्य उपस्थितीका लागि सर्कुलर जारी गरेको छ । 

राष्ट्रबैंकले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै ुवर्क फ्रम होमु नीति अवलम्बन गर्न  निर्देशन दिएपनि एनआईसी एसीया बैंकले सबै कर्मचारीलाई अनिवार्य कार्यालयमा उपस्थित हुन सर्कुलर गरेको हो । 

केन्द्रीय बैंकले अघिल्लो आइतबार सूचना जारी गर्दै कोरोनाको त्रास, बन्दाबन्दी, निषेधाज्ञा र सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणाली लगायतका  विशेष परिस्थीतिलाई मध्यनजर गर्दै ‘वर्क फ्रम होम’ व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

तर बैंकहरु तथा भिडभाड धेरै हुने स्थानमा कोरोना भाइरस (कोभिड–१९) बढीरहेकोले समयमा एनआईसीले भने कर्मचारीलाई बैंकमा नै बोलाएर भिडभाड बढाएको छ । बैंकका कर्मचारीहरुका अनुसार जोर विजोर प्रणालीले नीजि गाडी चलाउन नपाए सार्वजनिक गाडीमै भएपनि आउनू भनिएको छ । 

‘हाम्रालागि जारी गरेको सर्कुलरमा कार्यालयमै आउने तर पञ्चिङ्ग (विद्युतीय हाजिर) नगर्ने भनिएको छ’, बैंकका एक कर्मचारीले भने, ‘जोरबिजोर प्रणालीले गर्दा गाडी चलाउन नपाए सार्वजनिक सवारी साधनमा भएपनि आउनू भन्ने निर्देशन छ ।’  

कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमकितामा राखेर बैंकिङ सेवा प्रदान गर्न राष्ट्रबैंकले  निर्देशन दिए पनि बैंकले त्यसको पूरै वेवास्ता गरेको छ । 
सो बैंकका शाखाहरुमा व्यक्तिगत दुरी पनि कायम गर्ने गरी काम गर्ने व्यवस्था पनि नभएकोले एकजना संक्रमित भए धेरैलाई फैलन सक्ने भन्द कर्मचारीहरुले चिन्ता व्यक्त गरेका छन् । 

राष्ट्रबैंकले ‘कोभिड–१९ बाट सङ्क्रमित कर्मचारीलाई व्यवस्थितरुपमा घर, अस्पताल वा होटलमा सुरक्षित आइसोलेशनमा राख्न र सङ्क्रमितको सम्पर्कमा आएकाको ‘कन्टयाक ट्रेसिङ’ गर्न भनेको थियो । तर एनआईसी एसीया बैंकले त्यसको कुनै प्रवन्ध नगरेको कर्मचारीहरुको गुनासो छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया