राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत रू २ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलिले राजस्व अनुसन्धान कार्यालय प्रमुख बिजय रानालाई घुस लिँदै गर्दा पक्राउ गरेकाे हाे ।
व्यापारीसँग मासिकरुपमा घुस असुल्दै आएको भन्ने विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले स्टिङ अपरेसन गर्दा राना चिनी र सुर्ती व्यापारीसँग घुस लिंदै गर्दा बुटवल–१३ बुद्धचोकबाट पक्राउ परेका हुन् ।
उनीसँगै घुस दिने अनिलकुमार झालाई पनि घुसलेनदेनमा रंगेहात पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
विभिन्न जिल्लाका मालपोत कार्यालयहरुमा बसेका उनी भ्रष्ट मानसिकताका व्यक्ति रहेको सेवाग्राहीकोे गुनासो थियो ।
पछिल्लो पटक पुनर्निर्माण प्राधिकरणको सामान्य प्रशासन शाखामा रहँदा पनि कर्मचारी सरुवा र करारका कर्मचारी भर्नामा कमिसनका आधारमा काम गरेको आरोप लागेपछि उनको काज फिर्ता भएको थियो ।
प्राधिकरणबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेका उनी पैसाकै चलखेलका आधारमा सेटिङमा राजश्व अनुसन्धान पुगेको उनी निकटका कर्मचारीहरु बताउँछन् ।
उनकाे भ्रष्ट कृयाकलाप थाहा पाएकै कारण पुनर्निर्माण प्राधिकरणमा सँगै काम गरेका डा. भिष्मकुमार भुसाल अख्तियार दुरूपयाेग अनसन्धान आयोग बुटवल कार्यालय प्रमुख रहेकाे बेला रानालाई नियन्त्रणमा लिएका छन् ।
यसरी पठाइएको थियो सेटिङ्गमा
राजस्व अनुसन्धान विभाग पहिला अर्थमन्त्रालय अन्तर्गत रहने र राजस्वका कर्मचारी कार्यालय प्रमुख रहने भएपनि २०७४ मा सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत तानेको थियो ।
त्यसपछि राजस्वका कर्मचारी कार्यालय प्रमुख हुने प्रावधान हटाइ प्रशासनको कर्मचारी कार्यालय प्रमुख रहने व्यवस्था गरिएको थियो ।
जस अनुसार कोहलपुर, बुटवल, इटहरी र पथलैया कार्यालयमा उपसचिव र काठमाडौं कार्यालयमा सहसचिव प्रमुख हुने व्यवस्था छ ।
त्यतिबेला उनी प्रधानमन्त्री कार्यालयमा रहेकोले सत्तारुट नेकपाको ठूलो पहुँच प्रयोग गरि सेटिङ्मा राजस्व अनुसन्धान कार्यालय प्रमुख बनेर गएका थिए ।
अर्थमन्त्रालय मातहत रहेकाे कर छली राेक्ने अड्डा राजश्व अनुसन्धानकाे प्रभावकारीतका लागि भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मातहत ल्याएर सेटिङ्गमा कर्मचारी पठाएपनि घुससहित कार्यालय प्रमुख नै घुससहित पक्राउ परेपछि कार्यालयको विश्वास गुमेको छ ।
प्रतिक्रिया