गैर आवासीय नेपालीको लगानीप्रति सेयर किन्नेको आकर्षण : तीन दिनमा १ लाख ९० हजारले दिए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट बैंकको आइपिओको लागि आवेदन

५ बर्ष अगाडि

गैर आवासीय नेपालीहरुले खोलेको बैंकमा नेपाली सेयर लगानीकर्ताले अत्यधिक आकर्षण गरेर आईपीओ किन्न हानथाप गरेका छन् । 

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट बैंकको आइपिओको लागि तीन दिनमै एकलाख ९० हजार ७५ जनाले आवेदन दिएपछि लगानीकर्ताको निकै आकर्षण देखिएको हो । 

१६ साउनमा निश्कासन भएको आईपीओ खरिद गर्न तीन दिनमा ७५ लाख ३२ हजार ४८० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । यो  आइतबार साँझ ५ बजे सम्मको विवरण हो । 

साउन २१ गते सम्मका लागि खुला गरिएको आईपीओमार्फत कम्पनीले ३१ लाख ६० हजार १ सय ८३ कित्ता सेयर बिक्री गर्ने छ । 

सो बैंक विदेशमा व्यवसाय गरेका व्यक्तिहरुको लगानी भएको बैंक हो । जसको प्रबर्द्धकमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, भवन भट्ट र बर्तमान अध्यक्ष कुमार पन्त लगायत करिब आठ सय जना गैरआवासीय नेपालीहरु रहेका छन्।

जलविद्युत लगायत ठूला विकास आयोजनमा लगानी गर्ने उद्देश्यले सन् २०१२ मा स्थापना भएको यो बैंकको अधिकृत पुँजी रु ५ अर्ब र जारी पुँजी रु १ अर्ब १३ करोड २६ लाख ८२ हजार रहेको छ । 

चुक्ता पुँजी ७९ करोड २८ लाख ७७ हजार ५ सय रुपैयाँ रहेको कम्पनीले आइपिओ बिक्री गरी ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ संकलन गरेपछि सो पुँजी १ अर्ब १३ करोड २६ लाख ८२ हजार पुग्नेछ।  

आइपिओबाट उठेको रकम २१.३० मेगावाटको ठूलो खोला हाइड्रोपावर, ५६ मेगावाटको जुम खोला हाइड्रोपावर र ५३.५३ मेगावाटको मिडिल कालिगण्डकी हाइड्रोपावरमा लगानी गर्ने कम्पनीले जनाएको छ। 

स्थापनाको ८ वर्षको अवधिमा २०७५÷७६ सम्म १ करोड ६३ लाख १९ हजार रुपैयाँ नाफा गरेको कम्पनीले आव २०७८÷७९ सम्म ४ करोड ९४ लाख ४७ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया