अझै सञ्चालनमा आएन बेँसीशहर–चामे सडक

५ बर्ष अगाडि

अविरल वर्षाले पहिरो जाँदा गत आइतबारदेखि अवरुद्ध  बेँसीशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत विभिन्न स्थानमा गएको पहिरो हटाई नसक्दा करिब एक हप्तासम्म सडक सञ्चालनमा आउन नसकेको हो ।  

यही साउन ४ गते ६५ किलोमिटर  सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिकाका खरखरे भीर र पुवाखोला, मस्र्याङ्दी गाउँपालिकाका रामबजार, घोप्टेभीर, स्यागे, च्याम्चे, म्यादीलगाय स्थानमा गएको पहिराले सडक अवरुद्ध बनाएको मध्ये च्याम्चे र म्यादीको पहिरो हटाउन बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीका सबइञ्जिनीयर सुमन अधिकारीले बताए ।

 यस स्थानका विभिन्न पहिरो हटाइसकेको,  सो दुई स्थानका पहिरो एक÷दुई दिनमा हटाइसक्ने र सवारी साधन सञ्चालन हुने उनको भनाइ छ । “ठूलाठूला पहिरो गएकाले एक्साभेटरले पहिरो हटाउनका लागि समय लागिरहेको छ ।” बेलाबेला अविरल वर्षा भइरहँदा पहिरा हटाइसकेका स्थानमा पनि पुनः पहिरो जाँदा सडक अवरुद्ध भइरहेकाले सडक सञ्चालनमा थप समस्या उत्पन्न भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

लमजुङबाट मनाङ जाने र त्यहाँबाट यता आउने पैदल यात्रु तथा स्थानीयवासी जोखिम मोलेर हिँडडुल गर्न बाध्य भएका छन् । यस सडकमा वर्षेनी वर्षायाममा सडक अवरुद्ध हुँदा विभिन्न समस्या पैदा हुँदै आएको छ । विसं २०६९ देखि सडक सञ्चालनमा आएयता वर्षेनी बर्खायाममा पटक पटक सवारीसाधन अवरुद्ध हुँदै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया