राप्रपा गणतन्त्र विरोधी भएको भन्दै सूर्यबहादुर थापाका छोरा सहित ३० जनाले पार्टी छाडे

५ बर्ष अगाडि

राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको छोरा एवं राप्रपा नेता सुनिलबहादुर थापा सहित ३१ जनाले ले पार्टी परित्याग गरेका छन् । 

पार्टीका संस्थापक अध्यक्ष स्व. थापाको उदार प्रजातान्त्रिक दृष्टिकोण एवं परिवर्तनलाई आत्मसात् गर्ने नीति परित्याग गरेर गणतन्त्रविरोधी नीति अवलम्बन गरेको भन्दै उनीहरूले पार्टी परित्याग गरेका हुन् । 

‘राप्रपाले मुलुकमा समय समयमा भएका परिवर्तनलाई सहजताका साथ आत्मसात् गर्दै अग्रगामी मार्ग अवलम्बन गर्दै आएको थियो’ उनीहरूको राजनीनामा पत्रमा भनिएको छ, ‘तर, पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधन पश्चात् पार्टीले सवल नेतृत्व मात्रै गुमाएन, पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा पनि विचलन देखा परेको छ । जसका कारण पार्टी दिशाहीन बनेको छ ।’

संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको थापा समूहले आरोप लगाएका छन् ।

पार्टी एकतापछि पनि अस्पष्ट दृष्टिकोण र भागबण्डा कायम रहेको, सचिवालय र कार्य व्यवस्था समिति गठनमा समावेशितालाई वेवास्ता गरिएको र पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेसी, थारु र दलितको प्रतिनिधित्व हुन नसकेको छैन भन्दै थापा समूहले राजीनामाको घोषणा गरेका छन् ।

शनिबार पार्टी अध्यक्षलाई पत्र लेख्दै  राजीनामा दिनेहरूमा सुनिलबहादुर सहित विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्रबहादुर घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साह, नारायण राउत, इन्द्रबहादुर तामाङ, राजकुमार राई छन् ।

त्यसैगरी डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रुपनारायण यादव, भिखारीलाल यादव, महेन्द्र बस्नेत, गोपी ठकुरीडोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे र ध्रुब थापाले पनि पार्टी परित्याग गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया