चरम गुटगत विवादमा गुज्रेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एकअर्कालाई खुइल्याउन झुटको सहारा लिएको खुलेको छ ।
पार्टीका निर्णय, सरकारका काम तथा राष्ट्रवादका नाममा एउटा गुटले अर्कोलाई खुइल्याउन झुटको सहारा लिएको पछिल्लो उदाहरण हो कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा प्रकाशन काण्ड ।
शुक्रबारमात्रै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा प्रकाशन गर्न र सरकारको नीति तथा कार्यक्रममा राख्न पार्टीको स्थायी समितिले निर्देशन दिएको बताएपछि शनिबार पार्टीका केन्द्रीय सदस्य तथा अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेश सल्लाहकार सूर्य थापाले गत माघको पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीले कुनै निर्देशन नदिएको बताएका छन् । यसमा नेताहरु एउटा गुटलाई खुइल्याउन अर्को गुटले झुटको सहारा लिएको प्रष्ट हुन्छ ।
के हो त झुट
भारतले २०१९ नोभेम्बर २ का दिन नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालमा त्यसको चर्को बिरोध भयो ।
नेपाली भूमि भारतले आफ्नो नक्कामा राखेको बिरोधमा जनता तथा विभिन्न राजनीतिक दलले बिरोध गरे । कतिपय राजनीतिक दलले पार्टीमा निर्णय नै गरेर भारतको हर्कतको बिरोध गरे ।
त्यसपछि सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्शा प्रकाशित ग¥यो ।
सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा सो कुरा समावेश गरियो । संविधान तथा निशाना छापमा समेत नयाँ नक्सालाई मान्यता दिन सबै राजनीतिक दलको समर्थनमा संसदबाट सर्बसम्मतरुपमा संविधान संसोधन भयो ।
नेपालको नक्शा प्रकाशनको विषयमा सरकारको जनस्तरबाट प्रशंसा भयो । सरकारको नेतृत्व चरम भ्रष्टाचारमा लिप्ने भएको र देशमा भ्रष्टाचार रोक्न नसकेको तथा कोरोना भाइरस नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको लगायतका विषयमा चर्को आलोचना भइरहेको बेला नक्का प्रकाशन काण्ड सरकारको रक्षा कबच बन्यो पनि ।
त्यसै प्रसँगमा शुक्रबार नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी स्थायी समितिको गत पुस महिनाको बैठकको निर्णय पछि सरकारले नक्शा प्रकाशन गरेका भन्ने अभिव्यक्ति दिएका थिए । उनले सरकारले पार्टीले निर्देशन गर्दागर्दै पनि नीति तथा कार्यक्रममा नयाँ नक्सको विषय नराखेको अबस्थामा पार्टी सचिवालय बैठकमा छलफल भइ बैठकस्थलबाटै मुख्यसचिवलाई फोन गरेर नीति कार्यक्रममा राखिएको अभिव्यक्ति दिएका थिए ।
त्यसको खण्डन गर्दै शनिबार सोही पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा प्रकाशित गर्न पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको बताएका छन् । (हेर्नुहोस सूर्य थापाको लेख: नक्शा प्रकाशन गर्न पार्टीले निर्देशन दिएको होइन : सूर्य थापा)
उनले सामाजिक सञ्जाल फेसबुकमा लामो लेख लेख्दै पार्टीको केन्द्रीय समिति बैठकले नक्सा प्रकाशनमा सुझाव, निर्देशन र निर्णय नभएको प्रष्ट पारेका छन् । उनले १९ माघ २०७६ मा पार्टीको केन्द्रीय समिति बैठकद्वारा पारित समसामयिक प्रस्ताव समेत राखेर यस्तो निर्देशन नभएको बताएका छन् ।
नक्का प्रकाशनको विषय पार्टीको निर्देशन अनुसार नै भएको यसअघि नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत बताएका थिए ।
पार्टी अध्यक्षले स्थायी समिति बैठकको निर्णयको निर्देशन भन्ने र प्रधानमन्त्रीका सल्लाहकारले केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गरेर पार्टीले केही निर्देशन गरेको छैन भनिरहँदा जनता भने रनभुल्ल परेका छन् ।
संसदीय व्यवस्थामा पार्टीको निर्देशन अनुसार सत्ता सञ्चालन गर्ने परिपार्टी हुन्छ, यसका पार्टीले निर्देशन दिनुपनि कुनै नौलो कुुरा भएन । सरकारले पनि आफ्नो भूमि समेटेर नक्का मात्र प्रकाशन गर्नु कुनै ठूलो कुरा होइन । बरु छिमेकीले अतिक्रमण गरेको भूमि फिर्ता गर्न पहल गर्नुपर्ने हो ।
तर पार्टीको निर्देशन हो वा होइन भन्ने विषयमा एउटा गुटले स्थायी समितिको निर्णय अनुसार भन्ने र अर्कोले केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्ने प्रबृत्तिले जनतालाई झुक्याएको छ । राजनीतिक दलले, सरकारले गर्नैपर्ने काम गरेको विषयमा जस लिन गुटगत लडाइ गर्नु जनताको हितका लागि त हुँदै होइन, तथापी यो उनीहरुको केन्द्रीय समितिको निर्णय थियो कि स्थायी समितिको ? वा निर्णय नै थिएन भन्ने कुरामा समेत जनतालालाई गुटकाे लडाइले गुमराहमा पारेका छन् ।
चुनावको बेला तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भविष्यमा पार्टी एकिकरण हुने बाचा सहित गठबन्धन बनाएर भोट माग्न गएपछि जनताले बहुमत दिएका थिए । तर जनताले बहुमतको स्थायी सरकारबाट देश विकास, भ्रष्टाचार नियन्त्रण र मुलुकको अग्रगामी निकाशको लागि जुन आशा गरेका थिए त्यो नेकपाले पूरा गर्न सकेको छैन । जनताको अपेक्षा पूरा गर्न नसकेको नेकपा र सरकारले बेलाबेलामा राष्ट्रबादका नारा ल्याएर जनता झुक्याउँदै आएको छ ।
पछिल्लो पटक प्रकाशित नेपालको नयाँ नक्शा पनि देशका लागि केही गर्न नसकेको अवस्थामा पार्टी र सरकारको बचाउ गर्ने कबच बनेको अबस्थामा यसलाई जस लिने प्रतिस्पर्धाले जनता निराश बनेका छन्।
प्रतिक्रिया