आइतबारदेखि काठमाडौं भित्रनै सबैको कोरोना जाँच : नागढुंगा र साँगामा स्वाव संकलन

५ बर्ष अगाडि

राजधानी काठमाडाैं भित्रिनेहरू सबैकाे काेेराेनाभाइरस जाँच हुने भएकाे छ । काठमाडौँ उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण फैलने त्रास बढेपछि सरकारले राजधानी भित्रने नाका नागढुंगा र साँगामा जनशक्ति खटाएर नाकामै स्वाब संकलन गर्ने तयारी गरेको हो।  

सरकारले प्रत्येक दिन १० हजार जनाको स्वाब संकलन गरी जाँच गर्ने निर्णय गरेको र आइतबारबाट दुईवटा नाकाबाट राजधानी भित्रिने मानिसहरुको स्वाव संकलन सुरु हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

‘उपत्यकामा संक्रमणको जोखिम कत्तिको बढी छ त्यसको यकिन गर्न हामीले परीक्षण गर्न लागेका हौँ, नाकामा भित्रिने सबैको कोरोना परीक्षण सुरु हुन्छ’, उनले भने।

शुक्रबारमात्रै काठमाडौँ उपत्यकाका १० जनामा कोरोना पोजेटिभ देखिएको थियो। यस्तै उनले कोरोना जाँच गर्नका लागि सरकारले ६ वटा प्रयोगशाला थप गर्न लागेको पनि बताए। सरकारले कोरोना परीक्षणको दर घटाएको भन्ने हल्लामा कुनै सत्यता नरहेको पनि उनको भनाई छ। ‘सरकारले कोरोनाको परीक्षण गर्ने संख्या घटाएको कुरामा कुनै सत्यता छैन। दक्षिण एसियामा भुटानपछि सबैभन्दा बढी कोरोना परीक्षण गर्नेमा नेपाल छ,’ उनले भने, ‘परीक्षणको संख्या घटाउन लागेको भए हामी थप ६ वटा ल्याब स्थापना गर्नेतिर लाग्ने थिएनौँ।’

उनले कोरोना संक्रणको जोखिम हटिनसकेको भन्दै जनताहरुले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने बताए। सरकारले आफ्नो जिम्मेवारीको पालना गरिरहेको उल्लेख गर्दै उनले जनताले मापदण्डको पालना गरेर सरकारलाई सहयोग गर्नुपर्ने तर्क गरे। ‘सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेको छ। कोरोना संक्रमितको निशुल्क परीक्षण र उपचार  गरिरहेको अवस्था छ यो भन्दा कति जिम्मेवार र उत्तरदायी हुने,’ गौतमले भने, ‘नागरिकहरुले जनस्वास्थ्यको मापदण्डको प्रभावकारी पालना गर्नुपर्यो यसको नियन्त्रणमा हामी सबै जिम्मेवार छौँ।’

नेपालमा कोरोना संक्रमितहरु मध्ये पाँच प्रतिशतमा मात्र ज्वरो आउने, रुघा लाग्ने तथा श्वासप्रश्वास समस्या देखिने जस्ता समस्या देखा परेको उनको भनाई छ। नेपालमा हालसम्म संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। संक्रमित मध्ये १२ हजार ९ सय ७४ जना निको भइसकेका छन् भने कोरोनाको संक्रमणका कारण ४४ जनाको निधन भएको छ। अहिले तराईका बारा, सिराहा र सप्तरीमा कोरोना संक्रमितको संख्या बढेको छ। पर्साको विरगंजमा संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएपछि शनिबारबाट निषेधाज्ञा जारी गरिएको छ। लकडाउन खुलेपछि यता विरगंजमा मात्रै ६० जनामा कोरोना पोजेटिभ देखिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया