आजदेखि लकडाउन अन्त्य

५ बर्ष अगाडि

सरकारले आजदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले मंगलबार राती १२ बजेदेखि लागु हनेगरी लकडाउन खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । 

कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि गत चैत ११ देखि लकडाउन घोषणा गरिएको थियो । 

४ महिना लामाे लकडाउन अन्त्य भएपनि काेराेना भाइरसकाे राेकथाम र नियन्त्रणका लागि ताेकिएकाे मापदण्ड भने पालना गर्नुपर्ने उनकाे भनाइ छ । 

लकडाउन अन्त्य भएसँगै सरकारी कार्यालयहरू नियमित रूपमा १० देखि ५ बजेसम्म खुल्ने छन् । लकडाउनकाे अवधिमा बन्द भएका सरकारी कार्यालय लकडाउन खुकुलाे भएसँगै दुई सिफ्टमा सञ्चालन हुन थालेका थिए । 

त्यसैगरि निजी सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको छ । लकडाउनकाे अवधिमा पूर्णरूपमा बन्द भएका सवारीसाधन यसअघि सरकारले असार १ गतेदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्ने निर्णय गरेको थियो । 

लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उनले बताए । 

लकडाउन अन्त्य आजैदेखि भएपनि  होटल तथा रेष्टुरेण्टहरु साउन १५ देखि, विद्यार्थी भर्ना भदौ १ देखि मात्र हुने छन् । त्यस्तै सार्वजनिक, निजी, यात्रुवाहक सवारी सञ्चालन तथा पर्वताराेहण बुकिङ पनि भदौ १ देखि मात्र हुने छ । 

यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ । भदौ १ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ । सीमानाकामा पनि साउन ३२ गतेसम्म प्रतिबन्ध रहने छ । 

पछिल्ला दिनमा घट्दै गएको कोरोना संक्रमण बढेमा फेरि लकडाउन हुने प्रवक्ता खतिवडाले जानकारी दिए । नेपालमा कोरोना भाइरसका कारण पाँच महिनाको अवधिमा ४० जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या भने १७ हजार ९ सय ५४ पुगेको छ । संक्रमितमध्ये १२ हजार चार सय ७७ निको भएका छन् ।  मंगलबार मात्र १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 


 

५ बर्ष अगाडि

प्रतिक्रिया