परराष्ट्रमन्त्री ज्ञवालीको पहलमा गुल्मीमा पीसीआर मेसिन

५ बर्ष अगाडि

गुल्मीमा कोरोना भाइरस परिक्षण गर्ने पीसीआर ल्याब स्थापनाका लागि पीसीआर मेसिन ल्याइएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले शनिबार जिल्ला विपद व्यवस्थापन समितिमार्फत सदरमुकामको रेसुङ्गा नगरपालिकालाई पीसीआर मेसिन हस्तान्तरण गरे । 

उक्त मेसिन मन्त्री ज्ञवालीको पहलमा हिमालय एयरलाइन्सले उपलब्ध गराएको हो । एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत आफुहरुले मन्त्री ज्ञवालीको पहलमा पिसिआर मेसिन प्रदान गरेको जानकारी दिए । 

गुल्मीका स्थानीय तहहरुले समन्वय गरि पीसीआर ल्याब स्थापना गर्ने निर्णय गरेपछि मन्त्री ज्ञवालीले मेसिनका लागि पहल गरेका थिए । हिमालय एयरलाइन्सले मेसिन सहयोग गरेपछि ज्ञवाली आफै हेलिकप्टर मार्फत मेसिन लिएर शनिबार जिल्ला आएका थिए ।

मेसिन प्रदान गर्दै ज्ञवालीले अझै कोरोना भइरस संक्रमणको सबैभन्दा खराब स्थिति अझै बाँकी रहेको विज्ञहरुले बताएकोले नियन्त्रण र रोकथाथमको तयारीमा समेत तीन वटै सरकारका संयन्त्र लाग्नुपर्नेमा ज्ञवालीले जोड दिए ।

मन्त्री ज्ञवालीले सरकारले संक्रमितको संख्या बढीमा २०/२२ हजारभन्दा बढ्न नदिने गरी तयारी गरेको बताए । 'कोभिड–१९ लाई नियन्त्रण गर्न राम्रो सफलता मिलेको छ, अब परीक्षणको दायरा फराकिलो पार्ने र संक्रमतिलाई निको पारेर घर पठाउने तथा नयाँ संक्रमतिको संख्यालाई शून्यमा झार्ने गरी सरकारले काम गरेको छ ,' उनले भने । 

लकडाउनपछि भारतबाट ३ लाख नेपाली स्वदेश आएकाेेमा सरकारले जारी गरेको लकडाउन, सतर्कताले संक्रमण जम्मा ७ प्रतिशतलाई मात्रै देखा परेको र मृत्युदर ० दशमलव २ प्रतिशतमात्रै रहेको उनले बताए ।

देशभर ३ लाख नेपालीलाई क्वारेन्टाइनमा राखेर कोरोनालाई समुदायमा फैलिनबाट नियन्त्रणमा राखेको उनको दाबी छ । पीसीआर परीक्षण दक्षिण एसियामै नेपालले उत्कृष्ट गरेकाले संक्रमतिको संख्या नबढेको र मृत्युदर संख्या कमी भएको उनको भनाइ थियो ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया