काठमाडौं – आर्थिक बर्ष २०७६÷७७ जेठसम्म रु. ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको जेठ सम्मको तथ्यांकले यस्तो देखाएको हो ।
राष्ट्र बैंकको अनुसार यो रकम अघिल्लो आवको सोही अवधीको तुलनामा ३ प्रतिशतले कम हो । बिशेषगरि कोरोना भाइरसले विश्व श्रम बजारमा आएको संकटले विप्रेषण आप्रवाह घटेको हो ।
गत आवको सोही अवधीमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ । राष्ट्र बैंककाअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५.७ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।
यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ३.६ प्रतिशतले कमी आई रु.८७२ अर्ब ७८ करोड कायम भएको नेपाल राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६.६ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया