काठमाडौं – शेयर बजारमा अत्याधिक मात्रामा शेयर मुल्य भएको युनिलिभर नेपाल लिमिटेड चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा घाटामा गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत कम्पनी मध्ये उक्त कम्पनी सबैभन्दा बढी मुनाफा दिने कम्पनीमा पर्छ । उसको शेयर मुल्य पनि १९ हजार रुपैयाँ भन्दा बढी छ ।
तर, चालु आवको चैतसम्मको व्यवसायमा उक्त कम्पनी ७ करोड ६३ लाख रुपैयाँले घाटामा गएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
गत आवको सो अवधीमा भने कम्पनीले २७ करोड ३६ लाख खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीमा कम्पनीको जम्मा आम्दानी १ अर्ब १० करोड ५४ लाख रुपैयाँ रहेको छ । तर, कम्पनीको खर्च भने त्यो भन्दा बढी अर्थात् १ अर्ब २० करोड ४५ लाख रहेको छ । त्यसअनुसार कम्पनीले ९ करोड ९१ लाख घाटा बेहोरेको देखिन्छ, त्यसमा ट्याक्स कटाउदा ७ करोड ६३ लाख रुपैयाँले कम्पनी घाटामा गएको देखिन्छ ।
हाल कम्पनीको चुक्तापुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो जगेडामा १ अर्ब ९३ करोड ८ लाख रुपैयाँ जम्मा गरेको छ ।
प्रतिक्रिया