शिलान्याश भएको ३ वर्ष पुग्यो, रानीपोखरी कहिले बन्छ सरकारलाई नै थाहा छैन

७ बर्ष अगाडि


काठमाडौं । २०७२ साल माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीको तामझाम रानीपोखरी परिसरमा राम्रै थियो ।

सुरक्षा पनि कडा बनाइएको थियो । भूकम्पले भत्काएको रानीपोखरी अब निर्माण हुने भयो भन्दै धेरैले अपेक्षा गरेका थिए ।

तर त्यो अपेक्षा आज सम्म पूरा हुन सकेको छैन । आगामी माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्याश गरेको पनि ३ वर्ष पूरा हुँदैछ ।

काठमाडौँ महानगरपालिका, नेपाली सेना, पूरातत्व विभाग र स्थानीयको चर्को अन्तरविरोधका कारण रानीपोखरी आजसम्म निर्माण हुन सकेको छैन ।

पुनः निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने भन्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भाषण गरेको पनि धेरै भयो । प्रमुख शाक्य र उपप्रमुखबीचको विवाद पनि राम्रै देखिएको छ । मेयर ताला लगाउने, उपप्रमुख खड्गी ताला फुटाउने अभियान पनि राम्रैसँग चल्यो । तर रानीपोखरी भने जस्ताको तस्तै रहेको छ ।

पछिल्लो पटक रानीपोखरी निर्माणमा सिमेन्ट प्रयोग भएको भन्दै पुनः निर्माणमा रोक लगाउने निर्णय पूरातत्व विभागले गरेको छ ।

ठेकेदारले सिमेन्ट प्रयोग गरेको भन्दै विभागले रोक लगाएपछि रानीपोखरी पुनः निर्माण अवरोध आएको छ ।

कुन शैलीमा रानीपोखरी पुनःनिर्माण गर्ने भन्ने विवादले काम रोकिएको १० महिना भयो । संस्कृति मन्त्रालयको निर्देशनलाई समेत बेवास्ता गर्दा सहरकै शोभा रानीपोखरी त कुरूप बनेकै छ, साथै यसले महानगरपालिकाको अक्षमता देखाइएको छ ।

एउटै सम्पदा बनाउन फरक फरक निकायबीच स्वार्थ बाझिँदा करिब ३ बर्षदेखि रानीपोखरी लथालिंग अवस्थामा पुगेको छ ।

मध्य भागको बालगोपालेश्वर मन्दिर आधाभन्दा माथि बन्न सकेको छैन ।  कंक्रिटले सम्पदा बनाएको भन्दै स्थानीयले चर्को विरोध गरेपछि सुरु भएको विरोधबाट सुरु भएको विवाद कम हुने होइन बढ्दै गएको छ ।

पछिल्लो दिनमा मन्दिर ग्रन्थकुट शैलीमा बनाउने वा भूकम्पअघिको गुम्बज शैलीमा भन्नेमा चर्को विरोध रहेको छ ।

२०७२ माघमा राष्ट्रपति भण्डारीले तामझामका साथ शिलान्यास गर्दा २०७३ को भाइटिकासम्म रानीपोखरी निर्माण गरिसक्ने भनिएको थियो ।

रानीपोखरी पुनः निर्माणमा सरकारी निकायबीचको विवादले समस्या थप्दै गएको छ । पानी सहितको पोखरी र पानी सुकाएर यतिखेर घासे मैदान बनाइएको छ ।

डण्डी र कंक्रिटयुक्त पर्खाल बनाइयो, पुनः भत्काइयो ।

लामो विवादपछि मन्त्रीस्तरीय निर्णयले पर्खाल भत्काएर परम्परागत शैलीमै निर्माण गर्न दिइएको निर्देशनसमेत कार्यान्वयनमा ल्याइएको छैन ।

संस्कृति, पर्यटन तथा महानगरले बेवास्ता गरेको छ । महानगरले ऐतिहासिक एवं पुरातात्विक सम्पदा क्षेत्रमा मापदण्ड विपरित संरचना बनाउँदै र भत्काउँदै गरेर नाटक गरिरहेको छ ।

तर रानीपोखरीको पुनः निर्माणको काम छाडेर महानगरका प्रमुख विद्यासुन्दर शाक्य अमेरिका भ्रमणमा निस्केका छन् । उनको कार्यशैलीलाई लिएर महानगरपालिका भित्र चर्को आक्रोश व्यक्त गरेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया