मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट बसेरी–३ धादिङका मीमबहादुर घले, मसिना–६, रुपन्देही रामकुमार यादव, अमरगढी–५, डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा–९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९, इलामका बलबहादुर कुलुङ्ग र ठेगना नखुलेका आइतसिंह गोलेको मृत्यु भएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।
मृतकका शव मलेसियाका विभिन्न अस्पतालमा राखिएको छ । विषक्त मदिरा सेवनबाटै १६ जना बिरामी परेका छन् । दूतावासका अनुसार रानीचुरी–५ सिन्धुलीका जीतबहादुर माझी, रघुनाथपुर–६, बाराका राधेश्याम बैठा, फरेना–७, रुपन्देहीका रामचन्द्र लोध, च्याङ्ली–२, गोरखाका लोकबहादुर बराम, ढुङ्ग्रेखोला–८, सर्लाहीका रिखामान स्याङ्ताङ, देउराली–८, परासीका दुर्गासिंह राना, चोकामागु–६, पाँचथरका सेतवीर तुम्बाप्तो, बाबियाविर्ता–३, मोरङका जम्बिरलाला झाँगड, ठेगाना नखुलेकी सरु मगर, सकुवल घिसिङ, राजेशकुमार, बिमल कार्कीको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मदिरा सेवनबाट बिरामी परेका सिद्धकाली–४, सङ्खुवासभाका लुङ्गनाथ मगर, मैनापोखर–३ बर्दियाका जीतबहादुर माझी, महेन्द्रनगर–६, सुनसरीका दुर्गाबहादुर राई र राङ्सी–४ रोल्पाका भागीमान डाँगी उपचारपश्चात कम्पनीमा फर्किसकेको दूतावासले जनाएको छ ।
मृतकको शव परीक्षण तथा अन्य आवश्यक अनुसन्धान प्रक्रिया सकिनासाथ सम्बन्धित रोजगारदाताको सहयोगमा नेपाल पठाउन पहल भइरहेको मलेसियाका लागि नेपाली कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया