विदेशबाट आउने नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न आफूहरुले बिना शुल्क होटल दिँदादिँदै पनि सरकारले तारे होटलमा चर्को शुल्क तिर्न बाध्य पारेको भन्दै होटल व्यवसायीले सरकारको आलोचना गरेका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी होटल व्यवसायी महासँघले विदेशबाट आउने नागरिकको इच्छा अनुसार सस्तो दरका होटलमा क्वारेन्टाइन बस्न पाउने गरी व्यवस्थापन गर्न माग गरेको छ ।
महासंघले कोभिड–१९ का कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको भन्दै साना होटल व्यवसायीहरुको छाता संगठनले विभिन्न १४ वटा माग राख्दै तत्काल पुरा गर्न सरकारलाई आग्रह गरेको छ ।
महासंघका अध्यक्ष हिराध्वज शाहले आप्ना माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिए । उनले विषम परिस्थितिमा सरकारले ठूला तारे होटल र साना होटलहरु बीच विभेद गरेको आरोप समेत लगाए।
साना होटलहरुले विदेशबाट आउने नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न बिना शुल्क होटल दिन तयार रहँदा समेत तारे होटलमा महँगो शुल्क तिर्न बाध्य पारिएको उनले दावी गरे।
होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन समेत माग गरेका छन्।
लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महशुलमा १ वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजश्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि २ वर्ष थप्नुपर्ने माग उनीहरुले राखेका छन्।
सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न होटल व्यवसायीहरुले माग गरेका छन्।
प्रतिक्रिया