काठमाडौं - पोष्टमार्टम रिर्पोट गलत निकालेर नवराज विकसहितका ६ जना युवाको नरसंहार मुद्दा कमजोर बनाउन खोजेपछि देशभर दोस्रो चरणको आन्दोलन हुने भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
रुकुम सोतीमा जातीय नरसंहारका रुपमा नवराज विकसहित ६ जनाको हत्या, धनुषाका शम्भु सदा र रुपन्देहीकी अंगीरा पासीको हत्याको विरोधमा भोलिदेखि असार १५ गतेसम्म देशभर आन्दोलन हुने भएको हो ।
आन्दोलनका कार्यक्रमअनुसार भोलिदेखि १२ गतेसम्म विभिन्न राजनीतिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने, माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने, सडक बहस गर्ने, मसालजुलुश गर्ने, बृह्त प्रदर्शन गर्ने र त्यतिले पनि न्याय नमिले थप आन्दोलन गर्ने दलित नेताहरुले बताएका छन ।
आन्दोलनमा नेपाली कांग्रेसको दलित भातृ संगठनदेखि अरु १४ वटा संगठन सक्रिय छन । तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन भने अलग छ । पत्रकार सम्मेलनमा बोल्दै आन्दोलन कार्यक्रमका संयोजक तथा नेपाली कांग्रेसका नेता जीवन परियारले राज्यले दलितमाथिको विभेद र अन्याय नरोके थप सशक्त आन्दोलन चर्काउने चेतावनी दिएका छन ।
साथै उनले आन्दोलन कार्यक्रम साथ, सहयोग र सहभागि हुन आह्वान पनि गरेका छन । यसअघि पहिलो चरणमा समितिले माइतीघरदेखि देशभर आन्दोलन चर्काउने, गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउनेदेखि न्यायका लागि सबैसँग हातेमालो गरेर विरोध प्रदर्शन गरेको थियो ।
पत्रकार सम्मेलनमा युवा नेता प्रकाशचन्द्र परियार, कांग्रेस नेतृ लक्ष्मी परियार, दुर्गा शोब लगायतका नेता तथा अधिकारकर्मी सहभागि थिए ।
प्रतिक्रिया