काठमाडौं - बाणिज्य बैंकहरुले असार भित्र नै चैत मसान्तसम्मको कर सरकारलाई बुझाउने भएका छन् । सर्वाेच्च अदालतले सरकारलाई बन्दाबन्दी पुर्ण खुलेको ३० दिन भित्र कर संकलन गर्न अन्तरिम आदेश दिएको छ । तर, बाणिज्य बैंकहरु भने स्वतस्फूर्त रुपमा असारमा नै कर बुझाउने भएका हुन् ।
बाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको हालै भएको बैठकले यस्तो निर्णय गरेको हो । संघकाअनुसार बैंकहरुले चैतमसान्तसम्म तिर्नुपर्ने सबै प्रकारका कर अब सरकारलाई बुझाउने छन् ।
आन्तरिक राजश्व विभागले गत जेठमा नै असार ७ र १५ गते भित्र कर बुझाउन सुचना जारी गरेको थियो । तर, लकडाउनमा पनि कर उठाउन खोजियो भनेर करदाताहरुले त्यसको विरोध गरे । त्यसपछि सर्वाेच्चले पनि लकडाउन पुर्ण रुपमा खुलेको ३० दिन भित्र मात्र कर उठाउन आदेश दिएको थियो ।
तर, अहिले कर उठ्न नसक्दा स्वयम सरकार नै संकटमा फसेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पनि त्यस्तै खालका अभिव्यक्ति दिदैं आएका छन् । सोही अवस्थालाई दृष्टिगत गर्दै जतिसक्दा चाडो कर बुझाउने सहमति भएको संघको भनाइ छ ।
बैंकहरुले उक्त कर चैतमा नै बुझाउनुपर्ने थियो । तर, लकडाउनका कारण त्यो हुन सकेको थिएन । यो संकटमा कर बुझाउने बैंकहरुको दायित्व भएको बताउँदै कर बुझाउने निर्णय गरिएको संघका एक स्रोतले बताएको छ ।
प्रतिक्रिया