पहिलाेपटक गभर्नर अधिकारीले गरे राष्ट्र बैंकका ५ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

५ बर्ष अगाडि

राष्ट्र बैंकका ५ जना कार्यकारी निर्देशकहरुको सरुवा भएको छ । गभर्नर महाप्रसाद अधिकारीले विशिष्ट तहका ती कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन् । यसरी जिम्मेवारी हेरफेरमा पर्ने कार्यकारी निर्देशकहरुमा भुवन कँडेल, पिताम्बर भण्डारी, रेवती नेपाल, रामु पौडेल, र विश्रुत थापा छन् । 

स्रोतका अनुसार यसअघि राष्ट्र बैंकको आन्तरिक लेखापरीक्षण विभागमा रहेका भुवन कँडेल भुक्तानी प्रणाली विभागमा सरुवा भएका छन् । भुक्तानी प्रणाली विभागमा रहेका रेवती नेपाललाई भुक्तानी मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ । 

त्यस्तै, केही समय अघि मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका विश्रुत थापालाई आन्तरिक लेखापरीक्षण विभागमा पठाइएको छ । उनी यसअघि मुद्रा व्यवस्थापन विभागमा थिए । 

उता, वित्त कम्पनी सुपरीवेक्षण र जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक एकअर्काको जिम्मेवारीमा साटफेर भएका छन् । यसअघि वित्त कम्पनी सुपरीवेक्षणमा रहेका रामु पौडेललाई जनशक्ति व्यवस्थापन विभागमा पठाइएको छ । त्यस्तै जनशक्ति व्यवस्थापन विभागमा रहेका पिताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरीवेक्षणमा पठाइएको छ । 

रामु पौडेल र विश्रुत थापा केही समय अघि मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । भुवन कँडेल र पिताम्बर भण्डारी लामो समयदेखि सोही विभागमा थिए । रेवती नेपाललाई भे केही महिना अघि मात्रै भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको थियो । 

राष्ट्र बैंक कर्मचारी सेवा नियमावलीले गभर्नरले नियमावलीको अधिनमा रही जुनसुकै बेला पनि आफ्ना कर्मचारीहरुको जिम्मेवारी हेरफेर गर्नसक्ने अधिकार दिइएको छ । सोही अधिकारको प्रयोग गरी नयाँ गभर्नरले पहिलोपटक व्यवस्थापकीय तहका ती कर्मचारीहरुको सरुवा गरेका हुन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया