सरकारी, गैर सरकारी तथा नीजि क्षेत्रका कार्यालय आजदेखि शुरु भएर ५१ आँै दिनमा पूर्ण रुपमा खुल्ने भएका छन् ।
कोरोना भाइरस नियन्त्रण हुँदै गएमा तीन चरणमा गरि सबै कार्यालय पूर्ण रुपमा खुलाउने मन्त्रीपरिषदले निर्णय गरेको छ ।
बुधबार साँझ बसेको मन्त्रीपरिषदको निर्णय अनुसार पहिलो चरणमा आजदेखि ५० प्रतिशत कर्मचारी रहनेगरि सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू खुल्ने छन् ।
२१ दिनसम्म पहिलो चरण लागू भएपछि सरकारले फेरि कोरोना भाइरस संक्रमणको स्थिति मूल्यांकन गर्नेछ। स्थिति अनुकूल रहेमा दोस्रो चरण लागू हुनेछ ।
जस अनुसार फेरी २५ प्रतिशत कर्मचारी थपेर सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खुल्नेछन् । सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी दोश्रो चरणमा कार्यालयहरु खुल्ने मन्त्रीपरिषदको निर्णय छ ।
दोस्रो चरण १५ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरस संक्रमणको स्थिति मूल्यांकन गरि स्थिति अनुकूल रहेमा थप १५ दिनका लागि तेस्रो चरण लागू गरिने जनाइएको छ।
तेस्रो चरण अर्थात ५१ दिनपछि भने सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय सबै खुल्ने छन् ।
प्रतिक्रिया