नेपालीहरूको महान पर्व दशैंका लागि सार्वजनिक सावारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । सरकार र यातायात व्यवसायीबीच पटक–पटक भएको छलफलपछि आगामी असोज ५ गतेदेखि टिकट बुकिङ खुला गर्ने सहमति भएको हो ।
भाडा बढाउनुपर्ने माग राखेका व्यवसायीहरू दशैंको मुखमा नराम्रो सन्देश जाने भनेपछि दशैंपछि मात्रै भाडा बढाउन सहमत भएका हुन् । विभागका सूचना अधिकारी उपाध्यायले भने, ‘व्यवसायीसँग बुकिङ खोल्ने विषयमा सहमति जुटेको छ । भाडा बढाउने अहिलेसम्म टुंगो छैन तर, दशैंको मुखमा नराम्रो सन्देश जानेपछि उनीहरू पछि कुरा गर्नेगरी अग्रिम बुकिङ खुलाउन सहमत भएका हुन् ।’
सरकारले रोक्का गरेर राखेको यातायात समितिको नाममा रहेका खाता तत्काल खोल्न सरकारले सहमति जनाएसँगै अग्रिम टिकट खोल्न व्यवसायीहरू सहमत भएका हुन् । खाता रोक्का हुँदा व्यवसायीहरूको ठूलो रकम खातामै अड्किएकाले समन्वय गरिदिने यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायाले जनाकारी दिए ।
यातायात विभागले भदौ २४ बाटै अग्रिम बुकिङ खुलाउने विषयमा विभागका अधिकारी र व्यवसायीबीच २ पटक वार्ता भए पनि सहमति हुन सकेको थिएन । आइतबार तेस्रोपटक बसेको बैठकले अग्रिम बुकिङको सहमति गरेको हो ।
नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने, ‘अहिले महान पर्व दशैंलाई मध्यनजर गदै बुकिङ खुला गरेका हौं । सरकारसँग बाँकी विषयमा छलफल भइरहेको छ ।’
सामान्य अवस्थामा राजधानी उपत्यकाबाट दैनिक १८ सयदेखि २ हजार सार्वजनिक सवारी बाहिरिन्छन् भने दशैं तिहारको समयमा ४ देखि ५ हजार सवारी साधन आवतजावत गर्छन् ।
प्रतिक्रिया