क्वारेन्टिनबाट आइसोलेसनमा लैजाँदा भागेका संक्रमित पेला परे, स्थानीयाे असहयाेगले प्रहरीलाई समस्या

६ बर्ष अगाडि

आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टिनबाट भागेका एकजनालाई बाँके प्रहरीले रातभर खोजेर  नियन्त्रणमा लिएको छ । 

नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनबाट कोरोना पुष्टि भएसँगै गए राति फरार भएका एक जनालाई बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । 

सङ्क्रमित पुष्टि भएपछि आइसोलेशन केन्द्रमा व्यवस्थापनका लागि नेपालगञ्जबाट एम्बुलेन्ससहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली नरैनापुर पुग्दा स्थानीयवासीले अवरोध गरेपछि सङ्क्रमित क्वारेन्टिनबाट बाहिर निस्किएर भागेका थिए । 

त्यसपछि प्रहरीले बाह्र सङ्क्रमितलाई गए राति करीब १२ बजे नेपालगञ्ज लगेर फरार सङ्क्रमित खोज्न खटिएको थियो । सुरक्षा टोलीले गाउँमै लुकेर बसेका अवस्थामा उनलाई बिहान फेला पारेको प्रहरी उपरीक्षक वलीले बताए ।     

स्थानीयवासी र अन्य सरोकार भएकाहरुले असहयोग गर्दा नरैनापुरबाट सङ्क्रमितलाई ल्याउन पटकपटक अवरोध देखिए पनि आफूहरुले धैर्यपूर्वक काम गरिरहेको उनले बताए । 

नरैनापुरको अर्को विद्यालयमा रहेका क्वारेन्टिनमा एकसहित शुक्रबार मात्रै नरैनापुरमा १३ र राप्तीसोनारीमा एक गरी बाँकेमा १४ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 
    
कोरोना महामारीको कठिन परिस्थितिमा स्वास्थ्य र सुरक्षाकर्मी तथा एम्बुलेन्स चालक जोखिममा परेर समेत सङ्क्रमित पत्ता लगाउदै व्यवस्थापन गर्न खोज्दा बिरामीलाई क्वारेन्टिनबाट आइसोलेशन केन्द्र र अस्पतालसम्म ल्याउन स्थानीयले असहयोग गर्नु चिन्ताको विषय भएको उनको भनाइ छ ।

सदरमुकाम नेपालगञ्जबाट करिब ३५ किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुर मात्रै ८७ सङ्क्रमित पुगेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया