काठमाडौं – कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउन कारण पछिल्लो समय मुलुकमा महंगी बढेको छ । विशेषगरि खाद्य बस्तुको महंगी बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
गत फागुनमा खाद्य तथा पेय पदार्थको महंगी (मुद्रास्फीती) ६.३३ प्रतिशत रहेको थियो । तर, चैतसम्म आउँदा त्यो ९.६८ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंककाअनसार चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.४८ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ७.०४ प्रतिशत, पहाडमा ५.८४ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ चैतमा यी क्षेत्रहरुमा क्रमशः ४.७४ प्रतिशत, ३.९५ प्रतिशत, ४.८० प्रतिशत र ६.२० प्रतिशत मुद्रास्फीति रहेको थियो ।
चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति भने ७.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३८ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.२० प्रतिशत, ८.४७ प्रतिशत र २.७५ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.७६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया