काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले विश्वअर्थतन्त्रमा परेको प्रभावका कारण चालु आर्थिक बर्षको पहिलो ९ महिनामा विप्रेषण आप्रवाह चार प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकल हालै जारी गरेको चैतसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बिषयक प्रतिवेदनले यस्तो देखाएको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको चैतसम्ममा रु. ६ खर्ब २६ अर्ब ९० करोड विप्रेषण भित्रिएको छ । गत आवको सोही अवधिमा भने विप्रेषण आप्रवाह २० दशमलव ९ प्रतिशतले बढेको थियो । राष्ट्र बैंककाअनुसार अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ४ दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९ दशमलव ९ प्रतिशतले बढेको थियो ।
नेपालमा विप्रेषण आउने भनेकै बैदेशिक रोजगारमा गएका नेपालीबाट हो । तर, कोरोना र त्यसलाई रोक्न लगाइएको लकडाउनका कारण श्रम गन्तव्य मुलुकमा रोजगारी संकट आएको छ । साथै, त्यहाँको अर्थतन्त्र पनि खुम्चिएको छ । फलस्वरुप विप्रेषण आप्रवाह कमी आएको हो ।
यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १० दशमलव २ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७ दशमलव ५ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ४.४ प्रतिशतले कमी आई रु.७१३ अर्ब ११ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०.९ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।
प्रतिक्रिया