काठमाडौं- नेपाल वायुसेवा निगमको एयरबस ३३० वाइड बडी विमान कुच्चिएपछि (डेन्ट) ग्राउन्डेड भएको छ । वाइड बडी ग्राउन्डेड भएको यो पहिलो घटना हो । नेपाली नाम मकालु दिइएको यस विमानको कार्गो राखिने ढोकामा कुच्चिएको भेटिएपछि जहाज ग्राउन्डेड भएको निगमका एक उच्च अधिकारीले जनाए ।
बिहीबार बिहान दिल्लीबाट काठमाडौं आइपुगेको विमानमा निगमका इन्जिनियरहरूले निरीक्षण (पोस्ट ल्यान्डिङ चेकअप) गर्दा कार्गोको ढोका कुच्चिएको देखेका थिए । ‘कार्गोको ढोका कुच्चिएको छ,’ स्रोतले भन्यो, ‘काठमाडौंमा भएको हो वा दिल्लीमा छानबिन गर्दै छौं । पत्ता लागेको छैन ।’ यो निगमसँग भएकामध्ये दोस्रो विमान हो । निगमको कमर्सियल विभागका एक अधिकारीका अनुसार यस्तो अवस्थामा निगमले विमान मर्मत नगरी उडाउन मिल्दैन । ‘एयरबससँग इमेलमार्फत संवाद भइरहेको छ,’ ती अधिकारीले भने, ‘मर्मत निर्देशिकाको नियमले निर्देश गरेअनुसार कार्गोको ढोकाको कुच्चिएको भाग मर्मत गरेर मात्रै उडाउनेछौं ।’
कार्गो ढोकामा क्याटरिङ वा ल्याडर भ्यानले ठोकेर डेन्ट भएको अनुमान गरिएको छ । तर, दिल्लीमा भयो या काठमाडौंमा यसबारे शुक्रबार बेलुकीसम्म निगमका प्राविधिक तथा इन्जिनियरहरूले पत्ता लगाउन सकेका थिएनन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया