प्रचण्ड चीन जाँदा चिनियाँ राष्ट्रपति रुसमा

७ बर्ष अगाडि

निर्धारित समयभन्दा भारत भ्रमण १ दिन वर सारेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण दुई दिन वर सरेको छ। यसअघि १ असोजमा बेइजिङ जाने तयारीमा रहेका प्रचण्डको कार्यक्रम २ दिन वर सरेपछि उनी भोलि नै बेइजिङ प्रस्थान गर्दैछन्।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको १५ सदस्यीय टोली चीन प्रस्थान गरेको भोलिपल्टै प्रचण्ड बेइजिङ प्रस्थान गर्न लागेका हुन्।

यसअघि २२ भदौमा भारत भ्रमणमा जाने योजनामा रहेका प्रचण्ड त्यो भन्दा अघिल्लै दिन २१ भदौमा नयाँदिल्ली प्रस्थान गरेका थिए। उनको नयाँदिल्ली भ्रमणको कार्यतालिका पनि छोट्टिएको थियो। २२-२६ भदौमा भारत भ्रमण गर्ने भनिएकोमा २१-२४ भदौमा उनले भारत भ्रमण गरेका थिए।

 असोज १ गते चीन जाने योजनामा रहेका प्रचण्ड भदौ ३० गते नै त्यसतर्फ प्रस्थान गरी  असोज ३ गते संविधान दिवसका दिन नेपाल फर्कनेछन्। 

बेइजिङमा उनले भ्रमणको विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छैन। तर, उनले उपराष्ट्रपति ली युनचाओसँग भेटवार्ता गर्ने पक्का भएको छ। चिनिया राष्ट्रपति सी रसिया भ्रमणमा रहेकै बेला अध्यक्ष प्रचण्ड चीन पुग्ने भएकाले राष्ट्रपति सीसँग भेट हुने नहुने टुंगो लागेको छैन।

यद्यपी, प्रचण्ड चीनमै रहेका बेला राष्ट्रपति सी रसिया भ्रमणबाट फर्कने भएकाले त्यसपछि भेटवार्ताको टुंगो लाग्ने स्रोतको दाबी छ।

प्रचण्ड २०६९ मा चीन भ्रमणमा जाँदा  राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता भएको थियो। उतिबेला दक्षिण एसियाली नेतासँग भेट्ने उनी पहिलो नेता थिए।

हालसम्मको कार्यक्रम अनुसार प्रचण्ड परिवारसहित चीनको नानजिङ र एनान पुग्नेछन्। प्रचण्डको साथमा धर्मपत्नी सीता दाहाल, स्वकीय सचिव जोखबहादुर महरा, छोरी गंगा दाहाल र नातिनी इशानवी  भ्रमणमा सहभागी हुनेछन्।

माओवादी केन्द्र र एमालेबीचको पार्टी एकतापछि हुन लागेको प्रचण्डको यो पहिलो चीन भ्रमण हो।

उता प्रवक्ता श्रेष्ठको भ्रमण टोलीमा उनीबाहेक पार्टीका केन्द्रीय तहका १४ जना नेताहरु सहभागी छन्।

समाजवादको विषयमा अध्ययन गर्न जाने भएकाले चीनमा उनको भेट मन्त्रीस्तरीय नेतासँगमात्र हुने जनाइएको छ।

७ बर्ष अगाडि

प्रतिक्रिया