न्याय माग्दा बन्दुकको नाल

७ बर्ष अगाडि

काठमाडौँ  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमासँगै यतिबेला ९ अधिकारकर्मी महिला पनि आफ्नो परिवार र कामकाज छोडेर राजधानीमा छन् । यी तिनै महिला हुन् जो अहोरात्र नखटिएका भए कञ्चनपुर घटना उतिबेलै सेलाउन सक्थ्यो ।

अाजकाे कान्तिपुर दैनिक लेख्छ-शव भेटिएकै दिन साउन ११ गते कञ्चनपुरका कांग्रेस, पूर्वमाओवादी र पूर्वएमालेका तीन पुरुष प्रतिनिधिको रोहवरमा कागज गराएर प्रहरीले निर्मलाको सद्गत गर्न खोजेको थियो । यिनै महिलाले यसमा कुनै राजनीतिक निर्णय हुन नसक्ने भन्दै पुरुषहरूको सहमतिविरुद्ध आन्दोलन सुरु गरेपछि त्यस दिन शव जलाउन रोकिएको थियो । आन्दोलनको केन्द्रमा थिइन् ३२ वर्षीया लक्ष्मी मल्ल । पुरुषहरूले गरेको कागजमा निर्मलाको हत्या भएको मात्र लेखिएको थियो, उसले उनलाई साह्रै बिझायो ।


‘योनीबाट रगतसमेत बगेकाले बलात्कार पनि लेख्नुपर्ने माग हाम्रो थियो, तर तीनमध्येका एक प्रतिनिधिले डाक्टरको रिपोर्ट नआई लेख्न मिल्दैन भने,’ लक्ष्मी भन्छिन्, ‘त्यसो हो भने हत्याचाहिँ डाक्टरको रिपोर्ट नआई कसरी लेख्न मिल्छ भनेर म कराएँ । निर्मलाले आत्महत्या पनि त गरेको हुन सक्छ नि भनें ।’

कागजमा बलात्कार छुटाउने निर्णयले महिला मात्रै होइन, युवा पनि तातेपछि प्रहरीले निर्मलाको शव उठाउन सकेन । यसरी शव जलाउने निर्णय बिथोलिएकामा प्रहरी निकै क्रुद्ध भयो ।‘त्यसपछि हामीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार भयो, यति हुँदा पनि मैले भाइहरूलाई आवेशमा नआउन सम्झाइरहेकी थिएँ,’ लक्ष्मी भन्छिन्, ‘यसलाई पठायो भने सबै शान्त हुन्छ भनेर एक प्रहरीले मलाई त्यहाँबाट जबरजस्ती हटाउन खोजे । तर, म साँझ नपरी निस्किनँ ।’


‘भोलिपल्ट त बिहानै नगरपालिकाको फोहोर फाल्ने ट्याक्टरमा शव हालेर लाने तयारी भएको रहेछ, त्यो सुनेपछि म हुर्रिंदै अस्पताल पुगें,’ लक्ष्मी भन्छिन्, ‘त्यहाँ निर्मलाका बुबा यज्ञराज बेहोस अवस्थामा थिए । आमाको पनि बेहाल थियो । त्यसै बेला मामा भन्दै तीर्थराज भण्डारी भन्ने मान्छे आएर शव बुझ्ने तरखर गर्दै रहेछन् । त्यो देख्दा मेरो पारो चढेर आयो । कस्तो खालको मामा तपाईं भनेर तीर्थराजलाई हप्काएँ ।’


लक्ष्मीका अनुसार मामा पछि हट्न मानेनन् । ‘त्यसपछि प्रहरीले माइकिङ गर्दै हामीलाई घर फर्किन आदेश गर्‍यो, नटेरे बल प्रयोग गर्ने चेतावनी पनि दियो,’ उनी भन्छिन्, ‘हिजोजस्तै कुटपिट गर्ला भनेर अरू भागे, मचाहिँ कुटे पनि कुटोस् भनेर बसिरहें ।’


त्यस दिन पनि प्रहरीले शव उठाउन सकेन । १३ गते पनि यसरी नै प्रतिकार गर्न खोज्दा लक्ष्मी प्रहरीको आक्रोशमा परिन् ।


‘यसलाई ठीक नपारेसम्म झमेला भई नै रहन्छ, हाल् यसलाई भित्र भन्दै एक सई मेरो अघिल्तिर आए । उनले मलाई बन्दुकको नालैनालले पुट्ठा र ढाडमा हिर्काए,’ लक्ष्मी भन्छिन्, ‘दुखाइले म भुतुक्कै भएँ तर पनि भाग्न मन लागेन । हान् जति हान्छस् हान्, गोली नै हाने पनि खान तयार छु तर मेरी बहिनीको शव उठाउन दिन्नँ भनेर चिच्याएँ । उनले फेरि हिर्काए ।’


त्यसै बेला केही पत्रकार आइपुगे । ‘त्यसपछि चाहिँ त्यो सईले यसलाई पक्रेर लैजा भनेर महिला प्रहरीलाई अह्राए,’ लक्ष्मीले भनिन्, ‘भित्र बबिता बम हिरासतमा रहिछन्, मलाई पनि त्यहीँ लगेर थुनिदिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया