राजीनामा गर्न चर्को दवाब परेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री र माधव कुमार नेपाललाई अध्यक्ष बनाउने नयाँ कार्ड प्रयोग गरेका छन् ।
नेताहरुलाई रिझाएर आफू बलियो हुने दाउमा प्रधानमन्त्री ओलीले प्रचण्ड – नेपाल अलग्याएर पूर्व माओवादी गुटलाई एक्लाउने गरी नयाँ कार्ड प्रयोग गरेका हुन् ।
गौतमलाई राष्ट्रियसभा पदमा सिफारीस नगरेका ओलीले बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको प्रस्ताव गरेर प्रचण्डलाई एक्ल्याउने रणनीति ल्याएपछि सबे आश्चर्यचकित परेका थिए ।
यसअघि राष्ट्रियसभा सदस्यमा गौतमलाई मनोनयन गर्न पार्टीले निर्णय गरेपनि ओलीले नै उनको साटो डा. युवराज खतिवडालाई सिफारिस गरेका थिए ।
यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर पनि ल्याउन आफू तयार रहेको उनले बताए ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा सदस्य भएर पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था छैन ।
बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गर्दै तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए ।
आफ्नो राजीनामा माग गरिएपछि ओलीले प्रचण्ड बोलीरहेको समयमा रोकेर ओलीले आफूले राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने बरु वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव समेत गरे ।
बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनका लागि आफूले कोरोनाको महामारीपछि प्रधानमन्त्री पद त्याग्ने उनको प्रस्ताव थियो ।
ओलीले यस्तो प्रस्ताव राखेपछि अचम्म परेका नेताहरुले खासै टिप्पणी नै नगरेपछि यसबारे थप छलफल गर्ने भन्दै बैठक स्थगित गरिएको थियो ।
सचिवालयको अर्को बैठक २० गते बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पार्टी फूटाउन खुकुलो पार्ने र प्रतिपक्षी दलको नेताविना नै संवैधानिक परिषदको बैठक बस्नसक्ने विवादास्पद अध्यादेश ल्याएदेखि नेकपामा विवाद चर्किएको छ ।
चर्को दवावपछि ओलीले अध्यादेश फिर्ता गरेपनि नेताहरुले ओलीले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए । प्रचण्ड–ओली पक्षका छुट्टाछुट्टै बैठकहरु बस्ने र राजीनामाका लागि दवाव दिन थालेपछि ओलीले उनीहरुलाई अलग्याएर प्रचण्डलाई एक्ल्याउने रणनीति बनाएका छन् ।
प्रतिक्रिया