बजेट अधिवेशन (वर्षे अधिवेशन) बोलाउनका लागि सिफारिस गर्न सभामुख अग्नि प्रसाद सापकोटाले सरकारलाई आग्रह गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेकोले सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अधिवेशन बोलाउन आग्रह गरेका हुन् ।
आज प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका सभामुख सापकोटाले बजेटको तयारीका लागि छलफलल समेत गर्नुपर्ने भएकोले अधिवेशन बोलाउन ढिला गर्न नहुने राय राखेका थिए ।
भेटमा बजेट अगाडि आउनुपर्ने नीति तथा कार्यक्रम, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको थियो ।
संविधान अनुसार जेठ १५ मा संघीय सरकारले बजेट पेश गर्नुपर्ने व्यवस्था रहेको र बजेट अगाडि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकोले जितिसक्दो छिटो संसद अधिवेशन आह्वान गर्नुपर्ने आवस्यकता छ ।
बजेट ल्याउनुभन्दा अगाडि नै संसदमा नीति तथा कार्यक्रम र पूर्वबजेटमाथि छलफल गर्नुपर्ने हुन्छ ।
संसद सचिवाललयले संसद अधिवेशनका लागि सामाजिक दुरी कायम गरेर बैठक बस्न मिल्ने गरी बैठक कक्ष तयार गरिसकेको जनाएको छ ।
आवस्यकता परेमा भर्चुअल बैठकका लागि समेत सचिवालयले तयारी गरिसकेको सचिवालयका अनुसन्धान सचिव ध्रुव घिमिरेले बताए ।
तयारीका लागि घिमिरेको संयोजकत्वमा गठन भएको अध्ययन समितिले माइक्रोसफ्ट टिम्सको माध्यमबाट भर्चुअल बैठक गर्न सकिने सुझाव दिएको छ ।
प्रतिक्रिया