रौतहटमा र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि घर पठाएका युवाको पीसीआर जाँचमा पोजेटिभ भेटिएको छ ।
भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुषमा कोरोना पोजेटिभ भेटिएको हो ।
क्वारेण्टाइनमा रहँदा जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।
क्वारेण्टाइनमै रहँदा काठमाडौंबाट गत वैशाख १२ गते गएको टोलीले संकलन गरेको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।
काठमाडौंबाट गत वैशाख १२ गते गएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो ।
सोही स्वाबमध्ये अर्का एकजनमा पनि कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । देवाही गोनाही नगरपालिका १ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।
उनी भने अहिले क्वारेण्टाइनमै छन् ।
यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।
प्रतिक्रिया