सुलभ अग्रवाल विरुद्ध आज जिल्ला प्रशासनमा मुद्दा दर्ता गरिदै

६ बर्ष अगाडि

काठमाडौं - कालो बजारीको आरोपमा पक्राउ परेको शंकर ग्रुपका मालिक सुलभ अग्रवाल विरुछ आज जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिने भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले प्रशासनमा मुद्दा दर्ता गर्ने तयारी गरेको हो । 
आइतबार महानगरिय प्रहरी परिसरले अग्रवाल माथि लगाइएको आरोपको बिषयमा अनुसन्धान गरेर मिसिल वकिल कार्यालयमा बुझाएको थियो । उक्त मिसिल माथि आवश्यक अनुसन्धान गरेर आज मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालयका एक अधिकारीले जानकारी दिए । 
ज्वरो नाप्ने थर्मल गन महंगोमा बिक्री गर्दै गर्दा अग्रवाल गत चैतमा रंगे हात पक्राउ परेका थिए । उनलाई महानगरि अपराध महाशाखाको बिशेष टोलीले ग्राहक बनेर पक्राउ गरेको थियो । हाल उनी हिरासतमा रहेका छन् । प्रशासनले उनलाई हिरासतमा राख्न दिएको म्याद आज सकिएको छ । तसर्थ, उनलाई आज पुनः प्रशासनमा बयान लिनको लागि पेश गरिदै छ । 
प्रहरीले उनी माथि चार कसुरमा मुद्दा चलाउन जिल्ला वकिल कार्यालयलाई सिफारिस गरेको छ । अग्रवाल विरुद्ध कालो बजारी, सार्वजनिक पद दुरुपयोग, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना गरेको अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ । जगदम्बा सिमेन्ट, छड र धागोका मालिक अग्रवाल नेपालका लागि कीर्गिस्तानका अवैतानिक महावाणिज्य दूत पनि हुन्   ।  त्यसैले उनलाई सार्वजनिक पद दुरुपयोगको कसुरमा पनि मुद्दा चलाउन सिफारिस गरिएको हो । 
प्रहरीले उनीबाट ६७ थान थर्मल गन सहित रंगेहात प्रक्राउ गरेको थियो ।  ग्रवालले सामान्यतया ३ हजार ५०० पर्ने थर्मल गनलाई १५ हजार सम्ममा बिक्री गरेको प्रहरीको भनाइ छ । जसअनुसार उनलाई कालो बजारी ऐन अन्तरगत मुद्दा चलाउन सिफारिस गरिएको हो । उनले कुटनीतिक नियोगले दिएको गाडी प्रयोग गरेर उक्त थर्मल गन प्रयोग गरेका थिए, तसर्थ उनलाई सार्वजनिक पद दुरुपयोग बापत पनि मुद्दा चलाउन लागिएको हो । 

६ बर्ष अगाडि

प्रतिक्रिया