आन्तरिक विवाद बढेपछि भोली नेकपाको सचिवालय बैठक, नेताहरूकाे दिनभर दाैडधूप

५ बर्ष अगाडि

आन्तरिक विवाद तिब्र रुपमा बढेपछि भोली सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । 

नेताहरुको अनौपचारिक छलफल चलिरहेका बेला मङ्गलबारका लागि पार्टीको स्थायी कमिटी बैठक आव्हान गरिएको हो ।

सचिवालय बैठकमा सहमति हुन नसकेका विषय स्थायी समिति वा केन्द्रीय कमिटीमा लगिने नेताहरुले बताएका छन् ।    

सरकारले राजनीतिक दल विभाजन खुकुलो हुनेगरी राजनीतिक दल सम्बन्धि ऐन र प्रतिपक्षी दलको नेता विना नै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपामा आन्तरिक विवाद देखिएको छ । 

नेताहरुको दवावपछि सरकारले अध्यादेश तत्काल खारेज गरेपनि प्रधानमन्त्रीले विवादित काम गरेको, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको लगायतका विषयको विवादले झन् चर्को रुप लिएको छ । 

असन्तुष्ट नेताहरुले सरकारले पार्टीको समन्वयमा काम गर्नुपर्ने आवाज उठाउँदै आएका छन् भने सरकारको नेतृत्वमा रहेका नेताहरुले पार्टीले सरकारलाई सघाउनुपर्नेमा जोड दिएका छन् ।

विवाद मिलाउनका लागि नेताहरुबीचको अनौपचारिक छलफलले तीव्रता पाएको छ । पार्टीका २० स्थायी कमिटी सदस्यले सरकार र पार्टी नेतृत्वको समीक्षाका लागि तत्काल स्थायी कमिटी बैठकको माग गरिरहेका बेला समाधानका लागि शीर्ष नेताका साथै मध्यमार्गी अन्य नेताहरुको पनि सक्रियता देखिएको हो । 
 
समस्या समाधानका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताहरुबीच एक्लाएक्लै र समूहगतरुपमा अनौपचारिक छलफल चलिरहेको छ । 

उहाँहरु निकट पूर्व समूहका दोस्रो तहका नेताहरु पनि समाधानका लागि सक्रिय भएका आजै अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालबीच दाहाल निवास खुमलटारमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको छ ।  

समस्या समाधानका लागि आज वरिष्ठ नेता नेपाल र अन्य केही नेताहरुबीच काठमाडौँमा अनौचारिक छलफल भएको छ । छलफलमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरुले उत्पन्न गतिरोध चाँडै अन्त्य गराउन र पार्टीलाई एक ढिक्का बनाएर जान सुझाव दिइनुका साथै स्थायी कमिटीको बैठक चाँडो राख्न जोड दिइएको बताए । 

 “निकासका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नै पहल गर्नुपर्छ । गतिरोध चाँडो अन्त्य हुनुपर्छ ”, उनले भने ।  कतिपय नेताले पार्टी र सरकारका एक व्यक्ति एक पद हुनुपर्ने प्रस्ताव पनि राखेका छन् भने निर्वाचनबाट स्थिरता र विकासका लागि नेकपाले जनादेश लिएकाले एकताबद्ध भई काम गर्नुको विकल्प नभएको जनाएका छन् । 
    
 सो छलफलमा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु भीमबहादुर रावल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र पन्त सहभागी थिए ।     
 तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ गते एकता भएको थियो ।   
 

५ बर्ष अगाडि

प्रतिक्रिया