यसरी घट्दै छ बीमा कम्पनीहरूको नाफा

६ बर्ष अगाडि

काठमाडौं –  कोरोना भाइरस र लकडाउनका कारण नेपालको बीमा क्षेत्र पनि नमज्जाले प्रभावित भएको छ । यसैत ७० बर्ष भन्दा पार गरिसकेको बीमा क्षेत्रले लामो समयसम्म व्यवसायीक गतिविधि चुस्त बनाउन सकेको थिएन । २÷३ बर्ष यतादेखि मात्र फस्टाउन थालेको बीमा बजार फेरी कोरोनाका कारण चपेटामा परेको छ ।
बीमा क्षेत्रको व्यवसाय बृद्धि गर्नको लागि यो समय अत्यन्त उचित मानिन्छ । अधिंकाश बीमितको बीमालेख नकिरण गर्ने समय पनि यही हो ।साथै, असारमसान्त सम्मको टारगेट पुरा गर्न अभिकर्ताहरुले अन्य समयमा भन्दा बढी व्यवासय लिन्छन् । तर, अहिले लकडाउनका कारण नयाँ व्यवसाय आउन त परै जाओस्, नविकरण बीमाशुल्क समेत उठ्न सकेको छैन । फलस्वरुप बीमा क्षेत्र नमज्जाले प्रभावित भएको छ । निर्जीवन बीमा तर्फको व्यवसाय पनि उत्तिकै मात्रामा खस्कीएको सम्बद्ध क्षेत्रका अधिकारीहरु बताउछन् । 
बीमा कम्पनीहरुको मुख्य स्रोत नै बीमाशुल्क हो । उनीहरुले त्यही रकम परिचालन गरेर नै उनीहरुले आम्दानी गर्ने गर्छन । तर, अहिले बीमाशुल्क संकलनमा आएको ह्रासले कम्पनीको आम्दानीसँगै नाफा समेत प्रभावित हुने बताइएको छ । 
आइबार नेपाल आर्थिक पत्रकार संघले कोरोना भाइरस र बीमा क्षेत्रको बिषयमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल बीमक संघका उपाध्यक्ष एनपी प्रधान र जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेसँग अनलाइन अन्तरक्रिया गरेको थियो । त्यसमा उक्त अधिकारीहरुले पनि यो पटक बीमा कम्पनीहरुको नाफा प्रभावित हुने बताएका थिए । 
कोरोना भाइरसले विश्व अर्थतन्त्रमा ल्याएको संकटका कारण बैदेशिक रोजगारी पनि संकटमा परेको छ । यसो गर्दा त्यसबाट आउने विप्रेषण स्वत रुपमा घट्ने भएको छ । विश्व बैंकले नै नेपालमा आउने विप्रेषण १४ प्रतिशतले घट्ने बताएको छ । 
साथै, नेपालमा प्रतिव्यक्ति आम्दानी घट्ने सम्भावना छ । यो अवस्थामा अब नयाँ बीमित थपिने सम्भावना छैन । साथै, बीमालेख नविकरण नहुने, पोलिसी ल्याप्स हुने तथा पोलिसी सरेण्डर हुने सम्भावना पनि छ । यो अवस्थामा बीमा क्षेत्रको आम्दानी, नाफा नमज्जाले प्रभावित हुने बताइएको छ । 
बीमा कम्पनीहरुले बीमाशुल्कलाई बिभिन्न क्षेत्रमा लगानी गरेर आउने नाफाले नै सञ्चालन खर्च व्यवस्थापन गर्छन् । र, बाँकी रहेको पैसा नै उनीहरुको नाफा हो । नेपालमा अझै पनि बीमा कम्पनीहरुले आफ्नो लगानीको दायराल बढाउन सकेका छैनन् । ७० प्रतिशत भन्दा बढी लगानी बैंकको मुद्दती निक्षेपमा नै गरेका छन् । तर, अहिले कोरोना भाइरसकै कारण बैंकहरुले आफ्नो व्याजदर घटाइसकेको छ । तसर्थ, बीमा कम्पनीहरुको मुख्य आम्दानीको स्रोत मानिने बैंकको व्याज घटेको हुनाले यो पटक नाफा स्वत घट्ने बताइएको छ । 
तर, जीवन बीमा कम्पनीले बीमितलाई दिने बोनसदरमा हालै असर नदेखिने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं बताउँछन् । बोनसदरमा केही बर्षपछि असर देखिने उनको भनाइ छ । यद्यपि, पुरानो कम्पनीको बोनस दरमा त्यति समस्या नुहने उनको बिश्लेषण छ । 
साथै, बीमाशुल्कमा भने ह्रास नआउने उनको भनाइ छ । अहिले अनलाइन मार्फत पनि काम भएको हुनाले यो बर्ष जीवन बीमा तर्फ २० र निर्जीवन बीमा तर्फ २ प्रतिशतले बीमाशुल्क संकलन हुन सक्ने उनको अनुमान छ । फागुनसम्म करिव ८५ अर्ब बीमाशुल्क संकलन भएको छ । असारमसान्तसम्म पुग्दा त्यो करिब १ खर्ब १८ अर्ब पुग्ने बताइएको छ । 
अध्यक्ष चापागाईंले अबका दिनमा सरकारको आर्थिक नीतिअनुसार नै बीमा क्षेत्र अगाडि बढ्ने बताए । उनलेभ भने , ‘लकडाउनले बीमा क्षेत्रलाई असर गर्दै जान्छ । तर, के कति प्रभाव पर्छ, त्यो केही बर्षमा देखिन्छ ।’ अब सरकारले लिने आर्थिक नीति तथा गतिविधिका आधारमा नै बीमा क्षेत्र अगाडि बढ्ने उनको भनाइ छ । ‘अबका दिनमा बीमा क्षेत्रले यो दिशा नै लिन्छ भन्ने छैन । त्यो सरकारले लिने आर्थिक नीतिमा भर पर्छ,’ उनले बताए ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया