वर्षाैंदेखि झाडीले ढाकेकाे बारी, लकडाउनपछि बन्दैछ हरियाली

५ बर्ष अगाडि

राजु हमाल १० वर्षअघि बागलुङ बजार झरेपछि  काउलेमा रहेको बारी कोतर्ने कोही भएनन् । 

कहिलेकाहीँ घर आउने तर खेती गर्न नभ्याउने भएपछि बारी झाडिमा बदलियो । 

घरछेउमै जङ्गली जनावरको बासस्थानजस्तै भएको बारी देखेर यसपालि घर फर्केका उनको मन कटक्क खायो ।

संयोग पनि मिल्यो कि लकडाउनले उनी १० वर्षमै पहिलोपटक घरमा लामो समय बस्न पाए ।  

लकडाउनको पालना गर्न घर पुगेका उनले आफै सात वर्षपछि अहिले बारी खनजोत गरे । झाडीमा बदलिएको बारीले लकडाउनकै कारण सुसार पायो ।     
     
सात रोपनी बारीमा मकै लगाए ।  “घर बस्न नपाएर बाँझिएको बारीमा चितुवा नै बस्छ जस्तो थियो”, हमालले भने, “यसपालि फुर्सदमा घर बसियो, सबै फाँडेर मकै लगाएँ ।” 

अब भने उनले  बारी बाँझो नराख्ने सोच बनाएका छन् । खनजोत नभएकै कारण अनकन्टार बनेको बारी कोतर्न प्रविधिले पनि साथ दियो र मिनिपावर ट्रिलरले बारी कोतरे । “गोरु नपाइने, जोत्ने मान्छे पनि नहुने”, उनले भने, “अब त मेशिनले जोतेरै भए पनि खेती गर्छु ।”     
     
हमालले जस्तै बागलुङका धेरै गाउँमा युवाले लकडाउनको समयको सदुपयोग गर्दै बाँझो जोतेर खेती गर्न थालेका छन् । जिल्लाकै जैमिनी नगरपालिका–१ कुश्मीशेरामा लकडाउनकै समयमा एक हजार केराका बिरुवा लगाइएको छ । केरा पकेट क्षेत्र घोषण भएको वडामा रहेका बाँझो खेतबारीमा केराका बिरुवा लगाइएको हो । 

लकडाउनमा बाहिरबाट गाउँ फर्केका युवाले केरा लगाउन घरमा भएका आफन्तलाई सघाइरहेका छन् । पकेट क्षेत्र भएकाले केराका बिरुवा त रोपिन्थे नै तर लकडाउनमा घर फर्केका युवाका कारण खाडल बनाउने, मलदिने र बिरुवा लगाउने काममा सहज भएको स्थानीय किसान भीम शर्माले बताए ।      
     
जैमिनीमा केराका बिरुवा लगाउनका लागि कृषि प्राविधिक पनि खटिएका छन् । “लकडाउनको पालना गर्दै कृषि कर्म गर्न सकिन्छ भनेर सबै किसानालाई उत्साहित बनाइरहेका छौँ”, नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले भने, “हामीले बारीमै पुगेर सल्लाह दिएका छौँ, उहाँहरु सामाजिक दूरी कायम राखेर काम गरिरहनु भएको छ ।” 

बाँझो रहेको जमीन र खाद्यान्न बाली कम उत्पादन हुने क्षेत्रमा केरा बाली लगाउन सल्लाह दिइएको शर्माले बताए । साविकको कुश्मीशेरा गाविसका वडा नं १, २, ३ का किसानले धान फल्ने खेतमा समेत केरा लगाएका छन् ।     
 

५ बर्ष अगाडि

प्रतिक्रिया