काठमाडौं - निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा १९ सय हेक्टरभित्र आधारभूत संरचना बन्ने भए पनि ८ हजार ४५.७९ हेक्टरका रूख काट्न लागिएकामा वन र वातावरणविद्ले आपत्ति जनाएका छन् ।
५ लाख ८५ हजार ४ सय ९९ ठूला र १८ लाख ६४ हजार ८ सय २० वटा पोल आकारका गरी कुल २४ लाख ५० हजार ३ सय १९ वटा रूख काटेर विमानस्थल बनाउने योजनाअनुसार वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन गत जेठमा तत्कालीन वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ । रूख नोक्सानीको शोधभर्नास्वरूप आयोजनाले एक रूख बराबर २५ बिरुवाका दरले जम्मा ६ करोड १२ लाख ७० हजार ५ सय २५ बिरुवा रोप्नुपर्ने हुन्छ । त्यसका लागि ३८ हजार २ सय ९४ हेक्टर जमिन आवश्यक पर्छ । त्यो जमिन कहाँ छ, अहिलेसम्म टुंगो लगाइएको छैन ।
ईआईए स्वीकृत गर्ने वातावरण र रूख काट्न अनुमति दिने (भोगाधिकार दिने) वन मन्त्रालय गाभिएर यतिबेला ‘वन तथा वातावरण मन्त्रालय’ बनेको छ । विमानस्थलका लागि ईआईए स्वीकृत भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो चरणमा १ लाख ९५ हजार ५ ठूला र ५ लाख ७५ हजार २ सय ८६ साना गरी कुल ७ लाख ७० हजार २ सय ९१ रूख कटानको प्रक्रिया अघि बढाइदिन तीन महिनाअघि नै वन तथा वातावरण मन्त्रालयसँग आग्रह गरिसकेको छ । तीन महिनासम्म रूख काट्ने फाइल मन्त्रालयमै थन्किएपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सोमबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर उक्त फाइल अघि बढाइदिन आग्रह गरे । वनमन्त्री बस्नेतले भने विमानस्थल बनाउन कति क्षेत्र आवश्यक पर्ने हो, त्यसबारे प्रधानमन्त्रीसँग समेत छलफल गरेपछि मात्र फाइल अघि बढाउने जवाफ अधिकारीलाई दिएका छन् । ‘विमानस्थल हामीलाई चाहिएको छ,’ मन्त्री बस्नेतले बुधबार भने, ‘तर कति क्षेत्रमा बनाउने भनेर पहिला प्रधानमन्त्रीज्यूसँग छलफल गर्ने कुरा भएको छ ।’
पर्यटन मन्त्रालयले गत असारमा पहिलो चरणमा १३ किलोमिटर लम्बाइ र साढे दुई किलोमिटर चौडाइ क्षेत्रको २ हजार ५ सय ५३.९७ हेक्टर जमिन प्रयोगमा आउने भएकाले त्यसभित्रका रूख काट्ने प्रक्रिया अघि बढाइदिन वन मन्त्रालयसँग आग्रह गरेको थियो । पर्यटन मन्त्रालयले पूर्वपश्चिम राजमार्ग नजिकको लालबकैया खोलावारिको तामागढीमा आयोजनाको साइट कार्यालय निर्माणका लागि र पहिलो चरणको निर्माण अघि बढाउन रूख कटानको अनुमति मागेको हो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया