काठमाडौं - कोभिड–१९ बीमालेखको व्यवसायीक कारोबार सुरु गरिएको पहिलो हप्तामा १० हजार ४३८ जनाले कोराना बीमा गरेका छन् । शनिबारसम्म व्यक्तिगत र पारिवारिक गरि ६८२ ओटा बीमालेख बिक्री भएको छ । उक्त बीमालेख मार्फत यतिका मानिस कोरोना बीमाको दायरामा आएका हुन् ।
नेपाल बीमक संघबाट प्राप्त यतिका मानिसले कोरोना बीमा गर्दा रु. ५५ लाख ५२ हजार बीमाशुल्क संकलन भएको छ । बीमा समितिले बीमक संघसँगको सहकार्यमा अघिल्लो हप्ता मात्र यो बीमालेख जारी गरेको थियो ।
त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले आफ्नो लघु बीमा पुल मार्फत गत गत आइतबारदेखि यो बीमाको व्यवसायीक कारोबार सुरु गरेका थिए । बीमा समितिले लघुबीमा अन्तरगत यो बीमालेख ल्याएको थियो । बीमा कम्पनीहरुले लघुबीमालाई पुल मार्फत सञ्चालन गरेको हुनाले यो बीमा पनि सोही पुल मार्फत सञ्चालन गर्ने सहमति भएको थियो ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापगाईंले यसको पहिलो बीमालेख खरिद गरेका थिए । एक जना व्यत्तिले ५० हजार र १ लाखको बीमांकमा बीमा गर्ने व्यवस्था गरिएको छ । ५० हजारको बीमा गर्दा ५०० र १ लाखको बीमा गर्दा १००० बीमाशुल्क लाग्नेछ । यद्यपि, परिवारको सामुहिक रुपमा बीमा गर्दा व्यक्ति व्यक्ति ४० प्रतिशत छुट दिइने छ ।
तथ्यांकअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै कारोबार गरेको छ । शिखर इन्स्योरेन्सले १६७६ जनाको बीमा गरेर १० लाखभन्दा बढी बीमाशुल्क संकलन गरेको छ ।
यस्तै, अजोड इन्स्योरेन्सले ९ लाख ९७ हजार बीमाशुल्क संकलन गरेको छ । यसका अलावा प्रुडिन्सियल इन्स्योरेन्सले ९ लाख १४ हजार, आइएमई इन्स्योरेन्सले ८ लाख ९ हजार बीमाशुल्क संकलन गरेको छ । यद्यपि, यो व्यवसाय भने सबै बीमा कम्पनीलाई बराबर रुपमा प्रदान गरिने छ । पुल मार्फत गरिएको हुनाले सबै बीमा कम्पनीले यसको बराबर हिस्सा पाउछन् ।
पुनर्बीमा मार्फत नेपाल रि इन्स्योरेन्स कम्पनीलाई २० प्रतिशत व्यवासय दिइने छ भने बाँकी रहेको ८० प्रतिशत व्यवसाय २० कम्पनीलाई ४ प्रतिशतका दरले दिइने छ ।
निर्जीवन बीमा कम्पनीहरुले अनलाइन मार्फत यतिका मानिसलाई बीमाको दायरामा ल्याएका हुन् । लकडाउनका कारण फिल्डमा नै गएर पोलिसी बिक्री गर्न भने सकेका छैनन् ।
यसमा बीमित व्यक्ति कोरोना भाइरस संक्रमित भएको पूष्टि हुनासाथ दावी भुक्तानी पाउछन् । यद्यपि, १५ दिनको प्रतिक्षा अवधि भने लागू हुनेछ ।

प्रतिक्रिया