लकडाउनका कारण बिक्री नभएकाे केरा विपन्नलाई निःशुल्क

५ बर्ष अगाडि

लकडाउनका कारण देशभरी कृषि र पशुजन्य उत्पादन बिक्री नभएको भन्दै गुनासो गरिरहेका बेला कैलालीका एक किसानले विपन्न नागरिकलाई ३५० दर्जन केरा निःशुल्क उपलब्ध गराएका छन् । 

जानकी गाउँपालिका–९ का केरा व्यवसायी खेमबहादुर चन्दले गाउँपालिकामार्फत विपन्नलाई केरा दिएका हुन् । 

उनको सहयोगमा गाउँपालिकाले खाद्यान्नसहितको राहत प्याकेजमा केरा उपलब्ध गराउन थालेको हो । “किसानको उत्पादित केरा बारीमै सड्न थालेकाले स्थानीय केरा व्यवसायी खेमबहादुर चन्दको सहयोगमा राहतमा केरासमेत बाँड्न थालेका हौँ”, जानकी–९ का वडासचिव प्रेम बुढाले भने, “प्रतिव्यक्ति एक दर्जन केरा वितरण गरिरहेका छौँ ।”     
     
व्यवसायी चन्दले केरा बारीमै सड्न थालेपछि विपन्न नागरिकलाई वितरण गर्छु भनेपछि राहत प्याकेजमै राखिदिएको वडासचिव बुढाले बताए । 

जानकी–९ की रेश्मा चौधरीले राहतसँगै केरा पाएकामा वडा कार्यालयलाई धन्यवाद दिए ।  “लकडाउनका कारण हामीले केरा किनेर खान पाएका छैनौँ”, रेश्माले भने, “वडाले चामल, दाल, तेल, नुनसँगै केरा पनि दिएको छ, खुशी लाग्यो ।”     
     
वडा कार्यालयले पहिलो चरणमा २०४ र दोस्रो चरणमा १५० परिवारलाई राहत वितरण गरेको छ । 

केरा व्यवसायी चन्दले जानकी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकका लागि पनि ३०० दर्जन केरा सहयोग गरेका छन् । “खेर जानुभन्दा विपन्नको पेट भरियोस् भनी सहयोग गरेको हुँ”, व्यवसायी चन्दले भने, “केराले बजार नपाएर बारीमै सड्न थालेका छन् ।”    
 

५ बर्ष अगाडि

प्रतिक्रिया