काठमाडौं – कोरोना भाइरसबाट बच्न लगाइएको लकडाउनका कारण चैत महिनामा सुन आयातमा भारी गिरावट आएको छ । भन्सार बिभागको तथ्यांकअनुसार चैत महिनामा १५० केजी मात्रा सुन आयात भएको छ ।
लकडाउनका कारण अहिले नेपाली सुनचाँदी बजार पनि ठप्प छन् । यसरी कारोबार नै नभए बैंकहरुले सुन आयातमा कटौती गरेको बताइएको छ । नेपालमा सुन आयात गर्न पाउने अधिकार बाणिज्य बैंकहरुलाई मात्र छ ।
रकमका आधारमा चैतमा ८९ करोडको मात्र सुन आयात भएको छ । अघिल्लो फागुन महिनामा भने ३ अर्ब ५३ करोडको सुन आयात भएको थियो ।
सामान्य अवस्थामा नेपालमा मासिक औषतमा ३ अर्ब भन्दा बढीको सुन आायत हुन्छ । तर, विविध कारणबस अहिले विश्वभर नै सुनको मुल्य चालुको सुरुदेखि नै सुन आयातमा गिरावट आएको छ ।
नेपालमा अन्तरराष्ट्रिय बजार अनुसार नै सुनको मुल्य निर्धारण हुन्छ । यसरी सुनको मुल्य बढेपछि नेपालमा गत साउनदेखि नै सुनको कारोबार सन्तोषजनक छैन । त्यसपछि सुनचाँदी व्यवसायीहरुको सुझावमा नै चालु आवको बैंकहरुले सुन आयात कटौती गर्दै आएका छन् ।
भन्सार बिभागका अनुसार चालु आवको चैत मसान्तसम्म भने २४०० केजी सुन आयात भएको छ । रकमका आधारमा त्यो १३ अर्ब ४६ करोड बराबरको सुन हो । गत आवमा भने ३४ अर्ब ६३ करोडको सुन आयात भएको थियो ।
साथै, सुन आयात आगमी दिनमा अझै घट्न सक्ने बताइएको छ । नेपालले डलर अर्थात विदेशी मुद्रा तिरेर सुन आयात गर्नुपर्ने हुन्छ । तर, कोरोना भाइरसका कारण रेमिट्यान्स लगायतका माध्यमबाट हुने विदेशी मुद्रा आर्जन घट्ने देखिएको छ । फलस्वरुप विदेशी मुद्रा सञ्चितीमा पर्ने असरलाई दृष्टिगत गर्दै सरकारले सुन आयातको कोटा दैनिक १० केजी मात्र तोकेको छ । पहिला दैनिक २० केजी सुन आयात गर्न पाइन्थ्यो । जसअनुसार अझै सुन आयात घट्ने बताइएको छ ।
कुन महिनामा कतिको सुन आयात
भदौ – रु. ३ करोड
असोज – रु.३ करोड
कात्तिकमा – रु. २६६ करोड
मंसिरमा – रु. ४०७ करोड
पौष – रु. १०९ करोड
माघ – रु. ११६ करोड
फागुन – रु. ३५३ करोड
चैतमा – रु. ८९ करोड
स्रोतः भन्सार बिभाग
प्रतिक्रिया