नेकपामा भैंसेपाटी गठबन्धन, ओलीबिरुद्ध मोर्चाबन्दी शुरु

५ बर्ष अगाडि

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी शुरु भएको छ ।

उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीस्थित घरमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका ६ जना सचिवालय सदस्यहरुको भेलाले ओलीविरुद्ध मोर्चाबन्दी शुरु भएको हो । 

अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुको बैठक बालुवाटारमा बसेको हो । 

बैठकले विवादित अध्यादेश तत्काल फिर्ता गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको नेताहरुले बताएका छन् । 

आजको छलफलमा महासचिव पौडेलले समेत सरकारको यही रवैया रहे लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्न उठ्न पुग्ने भन्दै अध्यादेश फिर्ता लिनुको कुनै विकल्प नभएको बताएका थिए ।

बिहीबार बिहानै प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा ओलीले अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए ।

नेताहरुको छलफलमा अध्यादेश बाहेक पर्टीका विषयमा पनि छलफल भएको थियो । पार्टीका २० जना स्थायी समिति सदस्यहरुले बुधबार मात्रै अध्यादेशले पार्टीलाई बलियो नबनाउने भन्दै छलफलका लागि तत्काल बैठक बोलाउन माग गर्दै अध्यक्षलाई पत्र पठाएका थिए ।

‘अध्यादेशबाहेक पार्टीका नेताहरुले बैठक बोलाउन माग गरेको विषयमा पनि छलफल हुने नै भयो । त्यस्तै सरकारका कामकारवाहीको मूल्यांकन र विश्लेषण गर्नुपर्ने आवश्यकता रहेकोमा नेताहरुको जोड रह्यो । सोही अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफल गर्नुपर्ने आवश्यकता देखियो,’ ती नेताले भने, ‘अव सरकारको मूल्यांकन पनि गर्नुपर्छ । विश्लेषण पनि गर्नुपर्छ । किनभने प्रश्न उठेपछि प्रष्ट पार्नु जरुरी छ ।’

सरकारले पछिल्लो पटक दुई अध्यादेश ल्याउदा पार्टीमा कुनै छलफल नर्गनुलाई नेताहरुले गम्भीर रुपमा लिएका छन् । ‘सरकारको काम गर्ने शैली ठीक भएन । राष्टिय महत्त्वका विषयमा निर्णय गर्दा समेत छलफल हुन छाड्यो । यसले समग्र पार्टीको पनि हित गर्दैन । मुलुकको पनि गर्दैन त्यसैले यसबारेमा गम्भीर छलफल गर्न जरुरी देखियो’, अर्का एक नेताले रातोपाटीसँग कुरा गर्दै भने,' विषम परिस्थितिमा नेकपा एक ढिक्का हुनुका साथै अन्य पाटीको समेत साथ र सहयोग लिएर अघि बढ्नु राम्रो हुन्छ ।'

नेताहरुकाअनुसार सरकारले अध्यादेश फिर्ता गरेपछि सचिवालय बैठक बोलाउन समेत प्रधानमन्त्री समेत रहेका ओलीलाई सुझाव दिने निष्कर्ष निकालेको छ । 

यसअघि पनि भैंसेपार्टीमा ओलीविरुद्ध मोर्चाबन्दी गर्दै सचिवालयका ५ नेताहरुको बैठक बसेको थियो । सो बैठकपछि नै ओली पार्टीमा एक्लिँदै गएका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया