नयाँ पार्टीले पाँचतारे हाेटल बुक गरेपछि लकडाउनमा पनि मेरियटको राम्रो कारोबार

६ बर्ष अगाडि

कोरोना भाइरस संक्रमणको त्रासका कारण देश लकडाउनमा छ । मानसिहरु सुरक्षाका लागि होम क्वारेण्टाइनमा छन् ।

तर समाजवादी पार्टीका केही मधेशी नेताहरु भने पाँचतारे होटलमा क्वारेण्टाइनमा बस्ने सौभाग्य पाएका छन् । 

समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले पार्टी फुटाउन आफ्ना साँसदहरुलाई पाँचतारे होटल मेरियटमा राखेर डर र प्रलोभन देखाएको बताए । 

काठमाडौं नक्सालमा रहेको होटलको ७०१ देखि ७१५ नम्बर कोठासम्म उनीहरुलाई राखिएको उनको भनाई छ । 

साँसदहरुमध्ये केहीलाई डर, केहीलाई मन्त्रीपद र केहीलाई आर्थिक लगायतका प्रलोभन देखाएर राखिएको उनले बताए ।

सत्तारुढ नेकपाको खर्चमा होटलमा बसेका उनीहरुले उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्वमा सात सांसदले पार्टी फुटाएर नयाँ पार्टी बनाउने निर्णय गरेका छन्।

यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेका हुन् । 

बुधबार साँझ बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका उनीहलाई रातारात होटल मेरियट लगिएको थियो । असन्तुष्ट पक्षले आज (बिहीबार) नै नयाँ पार्टी दर्ता गर्ने जनाइएको छ । 

समाजवादी फोरमका प्रतिनिधि सभामा जम्मा १७ जना सांसद छन्। त्यसमध्ये ७ जनाले नयाँ पार्टी गठन गरेका छन् । 

पढ्नुहाेस् : अपहरणमा परेको पूर्वराज्यमन्त्री यादव घेरा तोडेर भागे

हिँजो दिउँसो यादव जनकपुरबाट सरकारी टोलीले अपहरणका शैलीमा काठमाडौं ल्याएको भएपनि उनी आज बिहानै होटलबाट भागेको समाजवादी पार्टीका उपाध्यक्ष अशोक राईले बताएका छन् । 

तीन दिनअघि मात्रै सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएर पार्टी फुटाउन सहज बनाएको थियो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा कुनै पार्टी फुटाएर नयाँ पार्टी गठनका लागि सो पार्टीको संसदीय दल र केन्द्रीय कमिटिमा ४०्४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने कानुन थियो। अध्यादेशमार्फत संसदीय दल वा पार्टीको केन्द्रीय समितिमध्ये एउटामा ४० प्रतिशत सांसदको समर्थन भए पार्टी विभाजन गरेर नयाँ पार्टी गठन हुनसक्ने व्यवस्था गरेका थिए।

नेकपामा बहुमत सचिवालय सदस्यहरूको विरोध हुँदाहुँदै सो अध्यादेश राष्ट्रपतिले केही घण्टामै जारी गरिदिएकी थिइन्। नयाँ अध्यादेशअनुसार समाजवादी पार्टी फुटाएर नयाँ पार्टी गठन गर्न सात जना सांसद भए पुग्छ।

समाजवादीका सात सांसदले पार्टी फुटाउने निर्णय गरेपछि हतारहतार मध्यरातमा समाजवादी पार्टी र राजपाले एकीकरणको घोषणा गरेका छन्। दुवै पार्टी एक भएपछि सात सांसदले मात्र एकीकृत पार्टीको संसदीय दलको ४० प्रतिशत पुग्ने छैन।

तर त्यसका लागि एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता हुनुपर्नेछ। जुन पार्टी पहिले दर्ता भयो त्यसैले बाजी मार्छ। 

नयाँ एकीकृत पार्टी निर्वाचन आयोगमा पहिले दर्ता भयो भने समाजवादी फुटाएर सात सांसदले अर्को नयाँ पार्टी दर्ता गर्न पाउने छैनन्। तर सत्ताको साथ रेणु यादव नेतृत्वका सांसदलाई रहने हुनाले उनीहरूकै पार्टी निर्वाचन आयोगमा दर्ता हुन्छ भन्ने विश्लेषकहरूको अनुमान छ।

समाजवादीका सात सांसदले सभामुखलाई भेटेर छुट्टै दलको मान्यता माग गर्न पनि सक्छन्। त्यसो भयो भने उनीहरूको संसदमा अलग दल हुनेछ।

तर नयाँ अध्यादेश आएकाले पार्टी विभाजन बारेका प्रावधानमा अन्यौल छ। त्यसैले यो विषय अदालतसम्म पुग्न पनि सक्छ।

यसैबीच, उनीहरुलाई भेट्न पुगेका नवगठित पार्टी जनता समाजवादी पार्टी नेपालका नेता अशोक राईले  होटल प्रवेश गर्न नदिइएको बताएका छन् । 

उनले त्यहाँबाट मैले सांसद सुरेन्द्र यादवलाई लिएर फर्केपनि अरुलाई भेट्न होटलमा प्रवेश गर्न नपाएको गुनासो गरे । 

पढ्नुहाेस् : अन्तत: समाजवादी पार्टी र राजपाबीच एकता गर्ने सहमति, नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल

६ बर्ष अगाडि

प्रतिक्रिया