सरकारले सोमबार जारी गरेको अध्यादेशका विरुद्ध साझा पार्टीले डिजिटल बिरोध अभियान चलाउने आह्वान गरेको छ ।
राष्ट्रिय विपद्का माझ नेपाल सरकारले सोमबार जारी गरेको दुई अध्यादेश लोकतन्त्र र देश दुबैका लागि घातक हुने निश्चित भएको भन्दै साझा पार्टीले डिजिटल बिरोध अभियान चलाउन आह्वान गरेको हो ।
‘संसदमा रहेका र नरहेका दल, नागरिक समाज र आम सर्वसाधारण सबै मिलेर अध्यादेश खारेजीको जोडदार माग गरौँ, तत्काल सडकमा उत्रिन नसकिने अवस्थाले गर्दा हाललाई डिजिटल अभियान चलाऊँ’, साझा पार्टीले भनेको छ, ‘त्यसका लागि यसै विज्ञप्तीसाथ प्रेषित सबैले प्रयोग गर्न मिल्ने पोस्टर सामाजिक सञ्जालमा प्रयोग गरौँ।’
विधेयक अधिनायकवादी र अनिष्टकारी कदम भएको भन्दै तुरुन्त फिर्ता गर्न साझा पार्टीको माग छ ।
‘राजनीतिक दलसम्वन्धी अध्यादेश निहित स्वार्थपूर्तिका लागि पार्टी फुटाउने कुत्सित मनसायबाट र संवैधानिक परिषद्सम्वन्धी अध्यादेश संवैधानिक निकायमाथि पूर्ण नियन्त्रण कायम गरी राजनीतिक प्रतिशोध साँध्ने ध्येयबाट प्रेरित भएको प्रष्टै देखिन्छ’, साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले भने, ‘विशिष्ट व्यक्तित्व र विज्ञहरू रहनुपर्ने संवैधानिक निकायलाई घृणित राजनीतिक भागबण्डाको थलो बनाउने दशकौँको राजनीतिक प्रवृत्ति पनि त्यत्तिकै दोषी छ।’
साझा पार्टीले अध्यादेशविरुद्ध दबाब दिन र संघर्ष गर्न संसदमा रहेका र नरहेका इच्छुक सबै दलहरूको संयुक्त मोर्चा निर्माण गर्न र अब संवैधानिक निकायमा राजनीतिक भागबण्डा बन्द गर्ने प्रण गर्न पनि आह्वान गरेको छ ।
सुरक्षा प्रोटोकलको व्यवस्था मिलाएर तुरुन्त संघीय संसदको बैठक आह्वान गर्न दबाब दिन पनि साझा पार्टीले आह्वान गरेको छ ।
प्रतिक्रिया