फेसबुकले भारतको रिलायन्स टेलिकममा पाँच अर्ब ७० करोड डलर लगानी गर्ने

५ बर्ष अगाडि

फेसबुकले भारतको टेलिकम कम्पनी रिलायन्स जियोमा पाँच अर्ब ७० करोड डलर (चार खर्ब ३५ अर्ब ७४ करोड भारु) लगानी गर्ने भएको छ ।

फेसबुकले भारतमा आफ्नो प्रभाव बलियो बनाउन ९ दशमलव ९ प्रतिशत शेयर लगानी गर्ने भएको हो । 

यससँगै रिलायन्स जियोमा फेसबुक कम्पनीको दोस्रो सबैभन्दा ठूलो शेयरधनी बन्नेछ । 

३८ करोड ८० लाखभन्दा धेरै ग्राहक रहेको रिलायन्स जियो मुकेश अम्बानीको स्वामित्वको कम्पनी हो । 

रिलायन्स इन्डस्ट्रिज लिमिटेड अन्तर्गत सञ्चालित उक्त कम्पनी सन् २०१६ मा स्थापना भएको हो।

फेसबुकका सीईओ मार्क जुकर बर्गले रिलायन्स जियोमा लगानीको घोषणा गर्न गइरहेको बताएका छन् ।

रिलायन्स जियोलाई आगामी पुस्ताको प्रविधि कम्पनीको रुपमा हेरिएको छ । कम्पनीले अहिले नयाँ पुस्ताको प्रविधिको विभिन्न योजना अघि सारिरहेको छ ।

लकडाउनका कारण विश्वको अर्थतन्त्र संकटमा परेको बेला फेसबुकले भारतको डिजिटल अर्थतन्त्रमा लगानीको लागि निकै उत्साहित भएको बताएको छ ।

आफूहरुको ध्यान भारतीय अर्थतन्त्रको सुधार तथा मानिसहरुको समृद्धिमा केन्द्रित रहने फेसबुकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया