बढ्दै छ मंहगी, राजधानीमा नै सबैभन्दा बढी महंगी

६ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको फागुनसम्म आउँदा उपभोक्ता मुद्रास्फीती (महंगी) ६.७० प्रतिशत पुगेको छ । सरकारले चालु आवमा महंगी ६ प्रतिशतमा कायम गर्ने लक्ष्य राखेको थियो । तर, भारतीय बजारमा नै महंगी बढेपछि नेपालमा मुद्रास्फीती उक्त विन्दुमा पुगेको हो ।
समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७० प्रतिशत रहेकोमा भारतमा यस्तो (मार्च महिनाको) मुद्रास्फीति ५.९१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.२० प्रतिशत र २.८६ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मासिक प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंककोअनुसार गत आवको समिक्षा अवधीमा मुद्रास्फिती ४.२० प्रतिशत रहेको थियो ।  समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.३३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६९ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।
राष्ट्र बैंककाअनुसार काठमाडौंमा सबैभन्दा बढी महंगी देखिएको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.६१ प्रतिशत महंगी रहेको छ । यस्तै, तराईमा ६.८४ प्रतिशत, पहाडमा ५.५३ प्रतिशत र हिमालमा ५.४२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ फागुनमा यी क्षेत्रहरुमा क्रमशः ४.६१ प्रतिशत, ३.६१ प्रतिशत, ४.६४ प्रतिशत र ५.४७ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकको भनाइ छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया