दल विभाजन सम्बन्धि अध्यादेश राष्ट्रपतिद्वारा जारी

५ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गरेकी छिन् ।

राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

मन्त्री परिषदको बैठकले दुवै अध्यादेश ल्याउने निर्णय आजै केही घण्टा अघिमात्र गरेर जारी गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गरेकाे थियाे । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता  घिमिरेले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको जनाएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्‍याएमा  पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

स‌ंवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा भने परिषद् बैठक बस्न प्रमुख प्रतिपक्षी दलका नेताविनै संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।

 मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्रीले संवैधानिक आयोगहरुमा लामो समय नियुक्तिहरु हुन नसकेको उल्लेख गर्दै उनले अब विपक्षी दलको नेता अनुपस्थित हुँदा पनि बैठक बस्ने र निर्णय गर्नसक्ने गरी अध्यादेश ल्याउनु परेको बताए ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया