बैंक ब्याज तथा हर्जाना मिनाह गर्न पनि लघुउद्यमीकाे माग, किस्ता लकडाउन खुलेको एक वर्षभित्र

५ बर्ष अगाडि

लघुउद्यमीहरुले लिएको कर्जाको किस्ता तथा ब्याज लकडाउन खुलेको एक वर्षभित्र तिर्न सक्ने व्यवस्था मिलाउन घरेलु तथा साना उद्योग महासंघले माग गरेको छ ।  

घरेलु उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योगीहरूलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले ठूलो मर्का परेको भन्दै महासंघले अर्थमन्त्रीसँग कोरोना भाइरस संक्रमणको अवधिभरको बैंक ब्याज तथा हर्जाना मिनाह गर्न पनि माग गरेका छन् । 

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले लकडाउनपछि खुल्ने उद्योगहरुलाई चालु पूँजीको आवश्यकता पर्नसक्ने भएकाले कर्जा लिएका उद्यमीहरुलाई आवश्यकता अनुसार सहुलियतपूर्ण पुर्नकर्जाको व्यवस्था गर्न अर्थमन्त्रीसँग माग गरे ।

विगतमा कर्जा नलिएका उद्यमीलाई बढीमा दुई प्रतिशत ब्याजमा सहुलियत दरमा चुक्ता पूँजीको कम्तिमा ७० प्रतिशितसम्म कर्जा उपलव्ध गराउने व्यवस्था हुनुपर्ने र विद्यमान बैंक कर्जा प्रवाहको ब्याजदरमा कम्तिमा चार प्रतिशत घटाइनुपर्ने उनको भनाइ छ । 

कोरोनाले अर्थतन्त्रमा पु¥याएको असरबाट पाठ सिक्दै रेमिट्यान्स र आयातमुखी अर्थतन्त्रबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न महासंघले सुझाएको छ । 

सामाजिक सुरक्षा कोषमा उद्यमीले दाखिला गर्नुपर्ने दायित्वको विषयलाई राज्यले उठान गर्न नहुने तथा लकडाउन तथा आवतजावतमा असर परेको कारणले उद्योग नविकरण गर्ने म्याद कम्तिमा छ महिना थप गरिदिनुपर्ने माग महासंघले गरेको छ ।

बैंक कर्जाको ब्याजदर घटाउनुका साथै छ महिनासम्मको ब्याज वा कम्तिमा पनि लकडाउन अवधिको सम्पूर्ण ब्याज लघु घरेलु तथा साना उद्यमीहरुको हकमा मिनाहा गरिदिनुपर्ने उनीहरुको माग छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया