शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले मिडियाकै दवावका कारण आफूलाई कारबाही गर्ने निर्णयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ब्याक भएको बताएका छन् । उनले मिडियासँग आफ्नो कुनै गुनासो नरहेको बरु आभार व्यक्त गरेका छन् ।
नयाँ पत्रिकालाई अन्तरवार्ता दिँदै उनले भनेका छन्, ‘गुनासो होइन, आभार व्यक्त गर्न चाहन्छु । धेरै मिडियाले मलाई साथ दिनुभयो । शेरबहादुर पुनलाई व्यक्तिगत रूपमा माया गरेर होइन, एउटा पेसाकर्मीलाई हतोत्साही गर्न पाइँदैन भनेर उहाँहरूले लेख्नुभएको हो ।’
उनले अगाडि भनेका छन्, ‘सत्यतथ्य बाहिर ल्याउने र न्यायको पक्षमा बोल्ने नेपाली मिडियाप्रति म गर्व गर्छु । मिडियाकर्मीले सत्यतथ्य बाहिर ल्याइदिनुभयो, त्यसैले त मलाई कारबाही गर्ने तयारी स्थगित भयो । अस्पतालमा पुगेको पत्र किन परिवर्तन भयो भन्ने त सबैले बुझिहाल्नुहुन्छ होला । म मन्त्रालय उपस्थित हुन नपाउँदै मेरो आवाज मिडियाबाट मन्त्रालय पुगिसकेको थियो । समाचार कारण जनताको दबाब बढेको हो । यसले गर्दा नै उहाँहरूलाई सोच्न बाध्य बनाएको हुनुपर्छ । अन्यथा कति धम्की आउँथे, मलाई थाहा छ । तर, मिडिया र जनताका कारण आइतबार माहोल पूरै परिवर्तन भयो । यही प्रसंगमा पनि म भन्न चाहन्छु– तपाईंहरूजस्ता मिडियाकर्मीले अन्यायको विरुद्ध बोल्नुभएको छ, न्यायको पक्षमा आवाज उठाउनुभएको छ । सत्यतथ्य बाहिर ल्याउनुभएको छ । यसमा कुनै दुईमत छैन । मलाई चिठी लेख्नेदेखि धम्की दिनेसम्मका काम भएका थिए, मिडियाकै कारण ती सबै ‘ब्याक’ भएका हुन् । यो सब प्रसंगमा एक दिन म आफैँले लेख्नेछु ।’
डा पुनले जनतालाई नियमित सुसूचित गराउने कुरामा आफू निरन्तर लागिरहने पनि बताएका छन् ।
उनले आफूमाथि कारबाहीकै तयारी भएको तर ‘आइतबार मन्त्रालयमा पुग्दा स्थिति फेरिएको थियो’ भनेका छन् ।
उनले आफूलाई मन्त्रालय तानेको समाचार सार्वजनिक भएसँगै आफूलाई दिन पठाएको पत्र फिर्ता भएको हुनुपर्ने र अर्को पत्र पनि त्यही कारण बनेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
यसअघि सञ्चारमाध्यमले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा डा पुनलाई कारबाही गर्न पत्राचार गरिएको खुलासा गरेका थिए । त्यसको २४ घण्टा नबित्दै मन्त्रालय र पुनबीच सहमति भएको थियो ।
मन्त्रालयद्वारा गरिने नियमित पत्रकार सम्मेलमा कोरोना उपचार र पहिचानको विषयमा छलफल गर्नका लागि डा पुनलाई डाकेको मन्त्रालयले दाबी गरेको थियो ।
सामाजिक सञ्जाल र मिडियाहरुले कुरा नबुझिकन मन्त्रालय र मन्त्री भानुभक्त ढकाललाई अनावश्यक टिकाटिप्पणी नगर्न मन्त्रालयले ध्यानाकर्षण समेत गराएको थियो ।
यस्तै पुनले पनि मन्त्रालयसँगको सहमतिपछि पुनले पनि आफू मन्त्रालयमा नतानिएको र शुक्रराज ट्रपिकल अस्पतालमा नै कार्यरत रहने र आवश्यक परेको खण्डमा मन्त्रालयमा आएर सघाउने सहमति भएको जानकारी दिएका थिए ।
प्रतिक्रिया