कोभिड–१९ बीमालेखको आजदेखि बिक्री शुभारम्भ (फोटो फिचर)

६ बर्ष अगाडि

काठमाडौं –  कोभिड–१९ बीमालेखको औपचारिक रुपमा बिक्री शुरु गरिएको छ ।  बीमा समिति र नेपाल बीमक संघले आइतबार समितिको प्रांगणमा एक  कार्यक्रम गरि यसको बिक्री सुरु गरेका हुन् । 
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कोभिड–१९ को पहिलो बीमालेख किनेका छन् । उनले आफ्नो परिवारको प्रतिसदस्य १ लाखका दरले बीमा गरेको बताइएको छ ।

समितिले गत बिहीबार लघुबीमा अन्तरगत कोभिड–१९ बीमालेख जारी गरेको थियो । यो बीमा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो लघुबीमा पुल मार्फत सञ्चालन गर्नेछन् । 
यस्तै, समितिले आज निर्जीवन बीमा कम्पनीहरुलाई यो बीमा सेवा प्रदान गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई जिल्ला पनि तोकिदिएको छ । तोकिएको जिल्लामा गएर कम्पनीले यो बीमा अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने बताइएको छ । 
कोरोना भाइरसको प्रकोपलाई लक्षित गर्दै अनलाइन मार्फत नै यो बीमालेख खरिद गर्न सकिने व्यवस्था पनि गरिएको छ । साथै, आइएमई पे मार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने छ । 

समितिले रु. १ लाख र रु. ५० हजारको बीमांक गरि दुई श्रेणीमा बिभाजन गरि यो बीमालेख जारी गरेको थियो  । १ लाखको बीमा गर्ने व्यक्तिले रु. १ हजार बीमाशुल्क तिर्नुपर्नेछ भने रु. ५० हजार बीमा गर्दा प्रतिव्यक्ति ५०० रुपैयाँ बीमाशुल्क लाग्ने छ । परिवारको नै बीमा गर्दा बीमाशुल्कमा ४० प्रतिशत छुट दिइन छ । 

समितिकाअनुसार बीमित व्यक्ति संक्रमित भएको पुष्टी हुनसाथ भुक्तानी गरिने छ । यद्यपि, बीमागरेपछि  १५ दिनको प्रतिक्षा अवधी लागू हुने समितिको भनाइ छ ।  
आइतबारको कार्यक्रमा बीमा समितिका अध्यक्ष श्रीमान्  चिरञ्जीवी चापागाँई, नेपाल बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे, महासचिव चंकी क्षेत्री, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा बीमा समितिका कर्मचारीहरु, निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरु लगायत विभिन्न सञ्चार माध्यमहरुको उपस्थीति थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया