पश्चिम रुकुमको चौरजहारीमा १० दिनमै कोरोना विशेष अस्पताल बनेको छ । पूर्वमन्त्री तथा सांसद जनार्दन शर्माको अगुवाइमा चौरजहारीमा ८ कोडाको आइसोलेसन भवन बनेको हो ।
शर्माको नेतृत्व तथा सहयाेग, गाउँपालिकाको समन्वय तथा जनश्रमदानमा उक्त भवन श्रम सहकारीद्वारा निर्माण भएको हो । रुकुमकै मुसीकोट र आठबिसकोटमा १०/१० बेडको ‘अट्याच बाथरुम’ सहितको भवन बनीरहेका छन् ।
१० दिनमै निर्माण सक्ने लक्ष्यका साथ निर्माण शुरु भएका ती भवनहरुको काम पनि एक सातामा सकिने सांसद शर्माले बताए । ‘द्रुत गतिमा ढलान गरेर नै काम भएको छ । मुसीकोट र चौरजारीमा ‘प्रिफ्याब’को भवन बन्दैछ’, उनले भने, ‘मुख्य कुरा योजना भिजन चाहियो, नेतृत्व र जनताबीचको समुधुर सम्बन्ध पनि हुनुप¥यो । सोही परिणाम स्वरुप काम भइरहेको छ ।’
ती भवनहरुको लागि सामानको व्यवस्थापन सबै सांसद शर्माले नै गरेका छन् । गृहजिल्ला पुगेर भवन निर्माण शुरु गरेका नेता उनी अहिले सामानको जोहो गर्न काठमाडौं आएका छन् । त्यसपछि उतै गएर जनतासँग नै जोडिएर काम काम गर्ने उनले बताए । ‘लकडाउनको समयमा निर्माण सामग्रीको समस्या छ, इँटा हामीले दाङबट लगेका छौं । अन्य सामग्री पास उपलब्ध गराएर लगिएको छ । सिमेन्ट तथा ‘प्रिफ्याब’ पनि त्यसैगरी लगिएको छ ।” उनले भने ।
जनपरिचालनबाटै एकहप्ताभित्र तीनवटै ठाउँमा गरी ४० बेडको आइसोलेशन कक्ष तयार हुन उनको भनई छ । पछिल्लो कामले जनतामा समेत एक प्रकारको विश्वास पैदा भएको छ । विचार र संगठनमा रहेका जनतालाई परिचालन गर्दा कसरी सजिलै यस्ता काम गर्न सकिन्छ भन्ने आफ्नो बुझाई साकार भएको नेता शर्माले बताए । ‘जनताले चाह्यो र त्यसलाई स्पष्ट दृष्टिकोणसहित नेतृत्व गर्न सकियो भने जस्तो सुकै काम पनि गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको छ ”, उनले भने ।
उनलाई यस्तो सोंच अहिले पलाएको होइन । ‘गोरखा भूकम्प’ को समयमा नै पलाएको हो । तर, नेता शर्माको सोंचलाई त न सरकारले, न त पार्टीले नै सुन्यो । उनले पाँच लाख स्वयम् सेवक परिचालन गरेर पुनः निर्माण गरौं भनेर संसद्को रोष्ट्रममा उभिएर होस् वा पार्टीका बैठकमा समेत आफ्नो भनाइ दर्ज गरेका थिए ।
“जनपरिचालनद्धारा एक वर्षमा सबै पुनःनिर्माण सकौं । पाँच लाख स्वयमसेवक तयार पारौ र लागौ भनेका थिए । पार्टीले पनि त्यसमा सहयोग गरोस् भनेको थिए”, उनले ती दिन स्मरण गर्दै भने , “मैले संसद्बाट भनेको थिए, मेरो कुरा सुनिदिने कोही भएन, दुई वटा बजेट त्यसमा समेत ती विषय अटाएन ।”
नयाँ संविधानपछि भएको निर्वाचनमा नेकपाले दुई तिहाई जनमत ल्यायो । दुई वटा बजेट पनि बने । आफूले दिएको सुझाव कहीँ कतै पनि नसमेटिएकोमा गुनासो गर्छन् नेता शर्मा । “विकास निर्माण पूरानो तरिकाले हुँदैन, नयाँ तरिकाबाट जनपरिचालनमार्फत गर्नुपर्छ भन्ने मेरो सोंच जीवित छ, सोही अनुसार काम गरिरहेको छु”, उनले भने, “जनपरिचालन नै विकास निर्माणका लागि आवश्यक छ । विशेष गरी युवा परिचालनबाट नै गर्नुपर्छ ।”
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गराउन भूमिका खेलेका नेता शर्माले पार्टी एकताको सन्दर्भमा पनि हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जनपरिचालनबाट विकास निर्माण गर्न सकिने विषयमा लामो समय कुराकानी गरेको स्मरण गर्छन् ।
“मेरो लामो कुराकनी भएको थियो, युवाको परिचालन र जनपरिचालनबाटै विकास निर्माण गर्नुपर्छ भन्ने कुरा भएको थियो । कामलाई तिव्रता दिन सकिन्छ भन्नेमा उहाँ (प्रधानमन्त्री ओली) पनि सकारात्मक हुनुहुन्थ्यो, तर सरकारको नीति तथा कार्यक्रमममा त्यो कुरा सम्बोधन गरिएन”, उनले भने, “राष्ट्रिय रुपमा आफूले भने अनुसार काम नभएपनि जिल्लामा त्यसलाई निरन्तरता दिएको छु ।”
नेता शर्मा उज्यालो नेपालको अभियन्ताका हुन् । उनले काम गर्ने क्षमताका कुलमान घिसिङ्गलाई विद्युत प्राधिकरणको नेतृत्वमा ल्याउनुका साथै उर्जाक्षेत्रमा उदाहरणीय काम गरो थिए । गृह मन्त्रालय सम्हाल्दा पनि विवादरहित तरीकाले शान्ति सुरक्षा चुस्त पार्ने र प्रहरी संगठनलाई खुसी राखेका शर्मा गफ मात्रै होईन काम गरेर देखाउने नेताका रुपमा चिनिन्छन् ।
उनले लकडाउनले समस्यामा परेका देशभर रहेका रुकुमका सयौँ जनतालाई समयमै उद्धार गरेर घर पु¥याएका थिए । जनताले आफूलाई उद्धारका लागि अनुरोध गरेको जानकारी दिँदै उनले हालसम्म ९० समूह आ आफ्नो घर पुगीसकेको जानकारी दिए । ‘अझै ६० समूह मेरो सम्पर्कमा आएका छन्, उनीहरुलाई पनि प्रक्रिया मिलाएर लान सकिन्छ कि भनेर लागेको छु’, उनले भने ।
लकडाउनका कारण भोकभोकै बस्न परेका र लामो यात्रा गरिरहेका नागरिकलाई सहजरुपमा व्यवस्थापन गर्नेतर्फ आफूले प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि पटकपटक सम्वाद गरेको उनो भनाइ छ ।
उनले देशभरकै ७५३ पालिकामा एकाध दिनमा नै श्रम परिचालन गरेर आइसोलेशन कक्ष बनाउन सकिने बताए । ‘त्यसो गरिए सात हजार ५०० आइसोलेशन कक्ष तत्कालै तयार हुन्छ’, उनले भने ।
उनले अस्पताल सडक भवन, जलविद्युत् आयोजना र कृषि क्षेत्रमा समेत जनपरिचालनमार्फत नै काम गर्न सकिने उल्लेख गरे । जनतालाई परिचालन गर्दा विकास बजेट खर्च भएन भन्नुपर्ने अवस्थासमेत नरहने उनको विश्वास छ । आयोजनाको म्याद थप्दै जाने र निर्माण व्यवसायी मोटाउँदै जाने, विकास निर्माण सुस्त नहुने उनको विश्वास छ । श्रम सहकारी तथा जनपरिचलनबाट तोकिएको समयभन्दा कममा आयोजनाको काम सकिने र समग्र राष्ट्र निर्माणको कामले समेत गति लिने उनको दृढ विश्वास छ ।
उनले कर्णालीका सुर्खेत, जुम्ला र रुकुमको चौरजहारीमा उद्योगी व्यवसायीको सहयोगबाट मेडिकल सामग्री पु¥याउनुका साथै कर्णाली प्रदेशको प्रमुख नेतृत्वको हैसियतले श्रव्य दृश्य बैठक समेत गरेर राहत तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउनसमेत नेतृत्वदायी भूमिका खेलेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अधिकांश जसो नेता तथा कार्यकर्ता लकडाउनका कारण क्वारेण्टाइन भन्दै घरभित्र बसेर सामाजिक सञ्जालमा अर्ति उपदेश दिइरहेका छन् । तर स्थानीय तहहरुमा पुगेर श्रम अभियान चलाइरहेका नेता शर्मा देशभित्रै केही गर्न सकिन्छ र सङ्कटमा समेत आम जनताको पक्षमा काम गर्न सकिन्छ भन्ने तथ्य स्थापित गरिरहेका छन् ।
विकास निर्र्माणका काम गर्ने क्रममा उपभोक्ता समितिबाट काम गर्दा चौतर्फी विवाद आएको र चरम भ्रष्टाचार भएको पाइएपछि विगत दुई वर्षदेखि नेता शर्माले आफ्नो जिल्लामा विकास निर्माणको काम गर्न श्रम सहकारी बनाएका छन् । आफूले त्यसलाई प्रत्यक्ष रुपमा नेतृत्व गरेका र संयोजनको जिम्मा स्थानीय सरकारलाई दिएका उनले राजनीतिक नेतृत्व, स्थानीय जनता सबै मिलेर समूहमा काम गर्दा सफल हुने बताउँछन् ।
“काम गर्न सत्ता र सरकार चाहिँदैन ”, उनी भन्छन्, “सामान्य समयमा त नागरिकले आफै दुःख जिलो गरिहाल्छन्, समस्या परेका बेला हामीले उहाँहरुलाई आँट भरोसा दिने हो ।”
प्रतिक्रिया