रोल्पाका विद्यार्थीले बनाए खुट्टाले खोल्ने धारा, कोरोना भाइरसको जोखिमबाट बच्न सघाउने

५ बर्ष अगाडि

कोरोना भाइरसको जोखिमबाट बच्न रोल्पामा कक्षा १२ का विद्यार्थीले युवाले खुट्टाले खोल्ने धारा निर्माण गरेका छन् । रोल्पा नगरपालिका– २ का २१ वर्षीय दानबहादुर घर्तीमगरले  खुट्टाले थिचेर साबुन र पानी आउने धारा निर्माण गरेका हुन् । 

कोरोना भाइरस रोकथामका लागि बारम्बार हात धुनु पर्ने भएकाले पानीको धारा खोल्दा सुरक्षित हुन खुट्टाले छुँदा खुल्ने धारा बनाएको उनले बताए । 

‘कोरोना भाइरस धेरै फैलिन सक्ने स्थान पानीको धारा पनि हो,’ दानबहादुरले भने, ‘हात जति सफा गरे पनि सुरुमा पानी खोल्न छोएको धारा फेरि बन्द गर्दा छुनुपर्ने र जसले गर्दा पुनः कीटाणु छोइने भएकाले यस्तो बनाएको हुँ ।’

उनले करिब २० हजार लागतमा खुट्टाले खोल्ने धारा निर्माण गरेका हुन् । सो धारा विद्युतविना नै सञ्चालन हुन्छ । 

आफूहरूले नगरपालिकामा पनि उक्त धारा स्थापना गर्ने केसीको भनाइ छ । सत्प्रयास समूहको समन्वयमा निर्माण गरिएको धाराको सम्पूर्ण लागत मिलन ग्रिल उद्योगका मिलन डाँगीले व्यहोरेका थिए । युवाको प्रयासलाई सार्थक बनाउन र अहिलेको अवस्थामा धारा निकै उपयुक्त लागेर आफूले लगानी गरेको डाँगीले बताए ।

उनीहरुले सो धारा जिल्ला अस्पताल रेउघालाई हस्तान्तरण गरेका छन् । हस्तान्तरणपछि रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीमगरले धेरै जोखिम क्षेत्रको रूपमा रहेको अस्पताललाई प्राथमिकता दिई खुट्टाले खोल्ने धारा हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरिन् । त्यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले युवाहरूको यस्तो रचनात्मक प्रयासले मानवजीवनमै महत्वपूर्ण भूमिका खेल्ने बताए । 

विभिन्न किसिमका बिरामीहरू आउने भएकाले रोल्पा अस्पतालमा धारा निर्माण गरिएको सत्प्रयास समूहका अभियन्ता काशीराम डाँगीले बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया