रुकुमका स्थानीय तहहरूमा रातारात कोरोना विशेष अस्पत्ताल , पूर्वमन्त्री शर्मा भन्छन् ‘जनताबाट सिकौं’

५ बर्ष अगाडि

कोरोना भाइरसको संभावित संक्रमितलाई उपचार गर्न रुकुम पश्चिमका स्थानीय तहहरुमा धमाधम विशेष अस्पत्ताल निर्माण शुरु भइरहेका छन् । जिल्लाका ३ स्थानीय तहमा कोरोना विशेष अस्पतालहरु निर्माण भइरहेका हुन् । 

पूर्वमन्त्री तथा रुकुमका जनप्रतिनिधि जनार्दन शर्माको विशेष पहलमा निर्माण भइरहेका अस्पतालहरुको निर्माण १०÷१० दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

गत चैत २६ गतेदेखि निर्माण शुरु भएको आठबिसकोट नगरपालिकाको अस्पताल लगभग सम्पन्न हुने चरणमा पुगेको छ । 

उपचारका लागि सबै उपकरण र सुविधा उपलब्ध हुने गरी निर्माण भइरहेको सो अस्पताल  श्रम सहकारी द्वारा निर्माण भइरहेको छ । 

६ वटा  एटेच बाथरुम सहितका स्टान्डर्ड प्राइभेट रुम सहित १२ बेडको अस्पताल निर्माणा लागि स्वास्थ्य उपकरण बाहेक ६९ लाख ४५ हजार रुपैयाँ लागत अनुमान रहेको नगरपालिकाले जनाएको छ । 

सांसद शर्मा सहित नगरपालिकाभित्र सबै जनताले जनश्रमदान गरेको अस्पताल निर्माणका लागि नगरपालिकाले सहयोग पनि जुटाइरहेको छ । 

त्यस्तै चौरजहारी नगरपालिकामा पनि  सबै सुबिधा सहितको आइसोलेसन निर्माण भइरहेको छ । १० दिनमा सक्ने लक्ष्य सहित काम सुरु भएको  भवन पनि जनश्रमदानमा निर्माण भइरहेको छ । 

यस्तै रुकुमको मुसिकोट नगरपालिकामा पनि प्रीफ्याब आइसोलेसन भवन निर्माण भइरेको छ । १० दिनमा सक्ने लक्ष्य सहित काम सुरु भएको भवन पनि सबै सुविधाहरु सहितको हुने जनाइएको छ । 

आफ्ना सांसदले नै अस्पताल बनाउन अगुवाइ गरेर निर्माण कार्य शुरु भएपछि स्थानीय तहहरुको आह्वानमा जनता खुसीसाथ जनश्रमदानमा जुटेका छन् । 

जनयुद्धको उद्गम थलोका रुपमा रहेको रुकुममा रातारात धमाधम भवनहरु खडा भएपछि युद्धकालका झल्को आएको आठबिसकोट ९ का ८३ वर्षीय बृद्ध तुलबहादुर चन्दले बताए । 
 
निर्माण कार्यमा सहभागीता जनाउन रुकुम पुगेका पूर्वमन्त्री शर्माले स्वास्थ्य सामग्रीका लागि आफूले उपलब्ध गराउने प्रतिवद्धता जनाए । ‘केही आवश्यक सामाग्री नगरपालिका मार्फत उपलब्ध गराएका छौं र थप स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौ’, उनले भने, ‘जनता नै शक्तिका श्रोत हुन् । सबै कुरा जनताबाट सिकौं ।’ 

उनले अहिलेको सरकारले नाफामा होइन जनताप्रति उत्तरदायी भएर जनताको जीवनलाई महत्त्व देख्ने नीति लिएकोले मात्र यो महामारी सामना गरिरहेको प्रतिकृया दिए । 

पूर्वमन्त्री शर्माले सानीभेरी अस्पताल लगायतका स्वास्थ्यसंस्थामा डाक्टर र स्वास्थ्यकर्मी संग कोरोना महामारीको नियन्त्रणको विषयमा छलफल गरेका थिए । आवस्यक स्वास्थ सामग्री बोकेर रुकुम पुगेका उनले थप स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता गर्दै  उच्च मनोबलका साथ काम गन्र आग्रह गरेका थिए । 

सांसदको जिल्लामा निरन्तर सम्पर्क, सहयोग र प्रतिवद्धता पछि काम गर्न उत्साह जाँगेको स्वास्थ्यकर्मीहरुले प्रतिकृया दिएका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया